काठमाडौं। प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘आ बाट आमा २’को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक ट्रेलरमा पारिवारिक सम्बन्ध, प्रेम, संघर्ष, शंका र वियोगका भावनात्मक पक्षलाई समेटिएको छ।
चलचित्रको ट्रेलर आमाले छोराहरूप्रति गर्ने निःस्वार्थ माया र छोराहरूको आमाप्रतिको प्रेम तथा बिछोडको कथामा केन्द्रित छ। भावनात्मक दृश्य र पारिवारिक सम्बन्धका उतारचढावमार्फत दर्शकको मन छुने प्रयास ट्रेलरमा गरिएको छ। ट्रेलरले चलचित्रमा दुःखान्त र संवेदनशील पारिवारिक कथालाई प्राथमिकता दिइएको संकेत गर्छ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन्। करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको चलचित्रमा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।
आमाको माया, पारिवारिक सम्बन्ध र वियोगलाई मुख्य विषय बनाएको ‘आ बाट आमा २’को ट्रेलर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ।


