काठमाडौं । यस वर्षको बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । दशैंको माहोलमा प्रदर्शनको तयारीमा रहेको सिनेमाले देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शो पाउने देखिएको छ ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले हालसम्म काठमाडौं उपत्यकामा २६ र मोफसलमा २० शो उपलब्ध गराएको छ । प्रारम्भिक चरणमै देशभर करिब १०० भन्दा बढी शो पाइसकेको सिनेमाले अझै धेरै हलमा शो पाउन बाँकी छ । त्यसैले शुक्रबार बिहानसम्म २०० भन्दा बढी शोसहित प्रदर्शनमा आउने अपेक्षा वितरकले गरेका छन् ।
सिनेमाको गीत ‘थाक खोला’ तथा पोस्टर, टिजर र ट्रेलरले दर्शकमाझ उच्च हाइप निर्माण गरेका छन् । त्यसको प्रभाव अग्रिम टिकट बुकिङ खुला भएसँगै देखिन थालेको छ । सुरुवाती चरणमै प्राप्त शो संख्याले पनि सिनेमाप्रति दर्शकको उत्साहलाई संकेत गरेको छ ।
नेपाली सिनेमा बजारमा सफलताको इतिहास बनाएको ‘कबड्डी’ शृङ्खलाका अघिल्ला चारवटै सिनेमा बक्स अफिसमा सुपरहिट तथा ब्लकबस्टर साबित भएका थिए । सोही लोकप्रियतालाई निरन्तरता दिने अपेक्षासहित निर्माण गरिएको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ यस वर्षको दशैंको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमामा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय रहेको छ ।
बासुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।
सिनेमाको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । नेपालमा सिनेमाको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने अन्तर्राष्ट्रिय वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले सम्हालेको छ ।


