असार ११ , खैरहनी । खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट, नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार आयोजित एघारौँ नगर सभाले आगामी वर्षका लागि एक अर्ब एक करोड बराबरको बजेट ल्याएको हो । बजेट प्रस्तुत गर्दै खैरहनी नगर उपप्रमुख कविता उप्रेतीले आगामी वर्षका लागि १ अर्ब १ करोड १२ लाख ५१ हजार बराबरको बजेट ल्याउन लागेको बताइन् ।
प्रस्तुत बजेटमा आन्तरिक आम्दानी १५ करोड ८ लाख संकलन हुने अनुमान छ । त्यस्तै जिल्ला समन्वय समितिबाट प्राप्त हुने सहयोग ५० लाख, संघीय सरकार सशर्त अनुदान ४ करोड, संघीय सरकार समानीकरण अनुदान १८ करोड १८ लाख, संघीय सरकारबाट बाँडफाँट भई प्राप्त हुन आउने ११ करोड ५७ लाख, संघीय सरकार समपुरक अनुदान १ करोड २० लाख, संघकै विशेष अनुदान ३ करोड ५८ लाख आउने अनुमान छ ।
त्यस्तै प्रदेश सरकार सशर्त अनुदान २ करोड ४२ लाख, प्रदेश सरकार समानिकरण अनुदान १ करोड ७८ लाख, प्रदेश सरकारबाट बाँडफाँट भई आउने सवारी साधन कर ६ करोड ९४ लाख, प्रदेश सरकार विषेश अनुदान ६५ लाख, प्रदेश सरकार समपुरक अनुदान १ करोड ६२ लाख, सडक बोर्ड नेपालबाट प्राप्त हुने अनुदान ५० लाख र भारतीय दूतावासबाट प्राप्त हुने अनुदान ३ करोड ४ लाख बजेटमा समावेश गरिएको नगर उपप्रमुख उप्रेतीले बताइन् ।
नगरपालिकाले आगामी वर्षका लागि ५ वटा नगर गौरव आयोजनाका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ । उपप्रमुख उप्रेतीका अनुसार नगरपालिका गेटदेखि चैनपुरचोकसम्म दुवैतर्फ अपाङ्गमैत्री बाटो, मगनीचोकदेखि उत्तर दक्षिण दुवैतर्फ पाँच, पाँच सय मिटर अपाङ्गमैत्री बाटो, चैनपुर चोकदेखि उत्तरतर्फ लदरी पुलसम्म अपांगमैत्री बाटो,डिज्नी पार्क नजिक पम्फापुलदेखी बाबा ग्याँस सम्म खोलाको दुवैतर्फ बाटोसहितको ड्याक निर्माण र वडा नम्वर ५ र ७ को वडा कार्यालय भवन तथा अन्य वडा भवन मर्मतलाई नगर गौरव आयोजनामा समावेश गरिएको छ ।
नगर सभामा नगरप्रमुख शशिकुमार खनियाले आगामी वर्षका लागि निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कृषि, पशुपालन, उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राखेर कार्यक्रम संचालन गरिने नगर प्रमुख खनियाले बताए ।


