असार ११ , चितवन। इच्छाकामना गाउँपालकाले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि ६७ करोड ५५ लाख ३५ हजार रूपैयाँ बराबरको बजेट प्रस्तुत भएको छ । गाउँपालिकाले सबैभन्दा धेरै पूर्वाधार विकासमा बजेट छुट्याएको छ, जसमा आठ करोड ८४ लाख रूपैयाँ बजेट छुट्याएको छ । स्थानीय सडक, पुल तथा झोलुङ्गे पुल निर्माणको लागि मात्रै पाँच करोड ७७ लाख रूपैयाँ बजेट विनियोजन भएको छ ।
कृषि, उद्योग, पर्यटन, सहकारी, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, संस्कृति प्रवद्र्धनलगायतले प्राथमकिता पाएको छ । यस्तै पूर्वाधार विकास तथा सिंचाइले पनि प्राथमिकता पाएको छ ।
गाउँपालिकाले कृषि क्षेत्रको लागि एक करोड २८ लाख रूपैयाँ बजेट प्रस्तुत गरिएको छ । त्यसभित्र तरकारी उप संकलन केन्द्र, कृषि तालिम केन्द्रको भवन निर्माण, कृषक सम्मान तथा कृषि अनुदान, चिस्यान केन्द्र निर्माण गर्नेलगायतका विषय प्राथमिकतामा परेका छन् । यस्तै पशु नश्ल सुधार, खोर तथा गोठ सुधार कार्यक्रम आदिले पनि प्राथमिकता पाएको छ ।
सामाजिक विकासतर्फ तीन करोड ७६ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन भएको छ, जसमा शिक्षा क्षेत्रको लागि मात्रै एक करोड रूपैयाँ बजेट विनियोजन भएको छ । स्वास्थ्यतर्फ ८२ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ, जसमा औषधि खरिद, महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन भत्ता, इच्छाकामना अस्पताल निर्माण, गर्भवती स्वास्थ्य पोषणलगायतले प्राथमिकता पाएको छ ।
खानेपानी तथा सरसफाइतर्फ ५५ लाख ५० हजार, पर्यटन क्षेत्रतर्फ २१ लाख, सस्कृति संरक्षणतर्फ ५३ लाख ५० हजार, युवा, खेलकुद तथा मनोरञ्जन क्षेत्रर्फको लागि २६ लाख, लैंगिक समानता तथा सामाजिक समावेशिकरणतर्फ ५२ लाख रूपैयाँ बजेट विनियोजन भएको छ । शनिबार प्रस्तुत भएको बजेटमाथि छलफल हुन बाँकी रहेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए ।


