साउन १३ , भरतपुर । चितवन प्रहरीले शुक्रबार चोरी भएको मोटरसाइकल र लागूऔषधसहित दुई युवालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं–११ का २२ वर्षीय सुमन गुरूङ र २१ वर्षीय विवेक थापा रहेका छन् ।
गत वैशाख २६ गते भरतपुर–५ बस्ने प्रशान्त बुढाथोकीको घरको कम्पाउन्डमा पार्किङ गरिराखेको बागमती प्रदेश ०३–०२८ प ४९३८ नम्बरको केटिएम डुक चोरी भएको निवेदनका आधारमा प्रहरीले खोजी कार्य जारी राखेको थियो ।
प्रहरीले बिहीबार भरतपुर–२ बाट मोटरसाइकलको नम्बर परिवर्तन गरी प्रदेश ३–००३ प ५८९० नम्बरको नम्बरप्लेट लगाइ चलाइरहेको अवस्थामा मोटरसाइकल चालक सुमन र पछाडि सवार विवेकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा विवेकको साथबाट लागूऔषध फेनारगन ५ एम्पुल, डाइजेपाम ५ एम्पुल र नुर्फिन ५ एम्पुल फेला पारेको जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत चितवनबाट शुक्रबारदेखि नै लागू हुनेगरी लागूऔषध तथा चोरी मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।


