साउन २०,काठमाडौं । गायिका मेलिना राईले सामाजिक सञ्जालमार्फत आफुले इन्गेजमेन्ट तोड्ने निर्णय गरेको जानकारी दिएकी छिन् । एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग मेलिनाले गत वैशाख २ गतेइन्गेजमेन्ट गरेको तस्वीर सार्वजनिक गरेका थिए ।
आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले जनाएकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने समेत स्पष्ट पारेकी छन् । ‘इन्गेजमेन्ट गर्नु मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो,’ उनी लेख्छिन् ।
आजकै मितिदेखि इन्गेजमेन्ट तोडिएको सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै उनले शुभचिन्तकमा पर्न गएको असरप्रति क्षमाप्रार्थी भएको जनाएकी छन् । भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाट देशको सेवा गर्ने उनले बताएकी छन् ।



