साउन २३ , चितवन । नेपाल राष्ट्रिय कर्मचारी महासंघ (नेराकम) चितवनले संगठनको कार्यालय भवनको गतिवधि रोक्न लगाउनु न्यायोचित नहुने बताएको छ ।महासंघले कार्यालय भवन स्थापना भइसकेको अवस्थामा जिल्ला समन्वय समिति चितवनले संगठनको गतिविधि रोक्न लगाउनु आपत्तिजनक भएको जनाएको हो । जिसस चितवनको जग्गामा निर्मित भवन विवाद बारे आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा महासंघले यस्तो बताएको हो ।
अन्य संघ संगठनले भवन निर्माण गरी प्रयोग गर्दा नरोक्ने जिससले नेराकमलाई मात्रै रोकेर राजनीतिक पूर्वाग्रह साँधेको अध्यक्ष प्रेमप्रसाद ढकालले आरोप लगाए । ‘जिससको कार्यालय भवन अगाडि नै सरकारी जग्गामा नेकपा एमालेको कर्मचारी भातृ संगठन नेपाल निजामती कर्मचारी संगठनको कार्यालय र उत्तरतर्फ सरकारी घरमा नेपाली कांग्रेस निकट नेपाल कर्मचारी युनियनको कार्यालय हुँदा हाम्रो कार्यालय भवन आवश्यक छैन भन्नु न्यायोचित हुन सक्दैन’, ढकालले भने ।
भवन निर्माण सम्पन्न भई कार्य प्रारम्भ समेत भएको अवस्थामा संगठनको गतिविधिहरु बन्द गर्न लगाउनु राजनीतिक पूर्वाग्राह भएको उनको भनाइ छ । उनले जिसस प्रमुख फरक बिचार धाराको भएकै कारण महासंघसँग राजनीतिक पूर्वाग्रह साँध्न खोजेको आरोप लगाए । उनले राजनीतिक सहमतिका आधारमा समस्या समाधान गर्न आग्रह पनि गरे ।
अदालतले काम रोक्न आदेश दिँदा समेत तपाईहरुले मान्नु भएन नि भन्ने प्रश्नमा उनले भने, ‘हामीलाई त्यस बारे अधिकारिक रुपमा पहिला पत्र प्राप्त भएन । साउन १५ गते निर्माण सम्पन्न भएको थियो । १६ गते मात्र जिल्ला अदालतबाट निषेधाज्ञा पत्र प्राप्त भयो । सो समयमा भवन निर्माण कार्य सम्पन्न भइसकेको थियो ।’ उनले अदालतको आदेशको अवज्ञा गर्दै रातारात काम गरेको भन्ने आरोपको पनि खण्डन गरे ।
उक्त जग्गामा कार्यालय भवन बनाउन २०७४ सालमा नै साबिक जिल्ला बिकास समितिसँग सहमति भएको उनले बताए । संगठनलाई प्रयोग गर्न दिने आपसी सहमति अनुसार नै २०७४ असोज ६ गते साइन बोर्ड राखिएको उनले दाबी गरे । संगठनको साइन बोर्ड हुँदा हुँदै उक्त जग्गा यातायात व्यवस्था सेवा कार्यालयलाई भोगाधिकार दिएको उनको आरोप छ ।
महासंघका केन्द्रीय समिति सदस्य प्रमोद तिवारीले भवन निर्माण विवादको बिषयमा जिसस प्रमुख नारायणप्रसाद अधिकारीले आफुहरुलाई खबर नै नगरी अमुक संगठनसँग छलफलमा गर्ने गरेको आरोप लगाए । ‘भवन हामीले बनाएका छौं । जिल्ला समन्वय अधिकारी हामी सरोकारवालालाई नबोलाई अमुक संगठनलाई बोलाएर कुराकानी गर्नुहुन्छ । अनी भवन बनाउदा किन हामीलाई खबर गर्नु भएन भन्नु हुन्छ । हामीले २०७४ सालदेखि बोर्ड झुण्डाईरहेका छौं । हामीले बनाउने कुरामा किन सोध्न पर्यो’, उनले भने ।
उनले रातारात बाहिर बसेर हतार हतार आफुहरुविरुद्ध मुद्धा दर्ता गरिएको समेत आरोप लगाए । उनले संगठनविरुद्ध जिसस आक्रमक बनेको आरोप पनि लगाए । उनले यो समस्या राजनीतिक रुपले टुङ्गाउनुपर्ने बताए । उनले यसमा संगठनसँग आवश्यक समन्वय नभए चरणवद्ध आन्दोलनमा जाने चेतावनी समेत दिए । ट्रेड युनियनको अधिकार प्रयोग गरेर चितवन ठप्प गर्नेसम्मको उनले चेतावनी दिए ।
‘हामीविरुद्ध आक्रमक रुपले जिसस आएको छ । यो बिषय राजनीतिक रुपले टुङ्गाइयोस् । भोलि आर्को विवाद आउँला । हामीसँग समन्वय भएन भने चरणवद्ध आन्दोलनमा जान्छौं । ट्रेड युनियनको अधिकार प्रयोग गरेर जस्तो सुकै आन्दोलन गर्न सक्छौं । दबाबमूलक आन्दोलन गर्छौं । चर्को-चर्को आन्दोलन हुन सक्छ । आवश्यक परे चितवन ठप्प गर्न पनि सक्छौं’, उनले भने ।
माओवादी केन्द्र निकटको संगठनले जिसस चितवनको स्वामित्वमा रहेको जग्गा हडपेर भवन निर्माण गरेको भन्दै जिल्ला अदालत चितवनमा मुद्धा दर्ता भएको छ । अदालतले तत्काल काम रोक्न आदेश दिएको छ । जिसस कार्यालय अगाडिको सरकारी अतिथि भवनमा यसअघि गंगाराम कलेज सञ्चालनमा थियो । कलेज त्यहाँबाट हटेपछि अतिथि भवन र भवनले चर्चेको जग्गामा यातायात व्यवस्था सेवा कार्यालयले सेवा सञ्चालन गर्ने तयारी थियो । जिसस र यातायात कार्यालयबीच २०७८ चैत ६ गते सम्झौता भएको थियो ।


