साउन ३१ , काठमाडौं। यहि शुक्राबार अर्थात् भदौ ३ मा रिलिज हुने तयारीमा रहेको फिल्म ‘माइकल अधिकारी’ ‘फापरको रोटी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभिनेता यसराज गराच र अभिनेत्री सुष्मा कार्कीले कम्मर मर्काएका छन् ।
दयाराम पाण्डेको शब्द सिर्जना रहेको गीतमा शम्भुजित बाँस्कोटाको संगीत छ । गीतमा शम्भुजितसहित रवि ओड र टिका प्रशाईले स्वर दिएका छन् ।डान्सिङ नम्बरको गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, सृष्टि श्रेष्ठ, आशान्त शर्मापनि फिचर्ड छन् ।
रञ्जित रौनियारले निर्देशन गरेको फिल्मले पूर्णत सेरोगेसी (भाडाको कोख)को कथा भन्छ ।फिल्मको प्रदर्शनमा मिति नजिकिदै गर्दा निर्माण पक्ष प्रचार चुस्त बनाउन लागिपरेको छ ।
गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित फिल्ममा लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, आर्या पौडेल र केभिन परियारलगायतको पनि अभिनय छ ।
मनोज केसी प्रोडक्सन म्यानेजर रहेको फिल्ममा कमल राई/कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा/रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री/दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा/संवाद छ ।उद्धव पौडेलको प्रस्तुति रहेको फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन् ।


