भाद्र ६ , चितवन । भरतपुर महानगरपालिकाले सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन प्रमुख प्रसाशकीय अधिकृतसँग कार्यसम्पादन करार सम्झौता गरेको छ ।महानगर मातहतका ४ वटा महाशाख, ३३ वटा शाखा र २९ वडा कार्यालयका सचिवसँग कार्यसम्पादन करार सम्झौता गरिएको छ ।
कार्यालयले मासिक रुपमा सम्पादन गर्नुपर्ने कार्यको सूचक निर्धारण गरी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख प्रसाशकीय अधिकृत रामबन्धु सुवेदीबीच सोमबार महानगर सभाहलमा कार्यसम्पादन करार सम्झौता भएको हो ।एक वर्षे कार्यअवधि रहेको कार्यसम्पादन सम्झौताले निर्धारण गरेका सूचकको मासिक, चौमासिक, वार्षिक रुपमा सम्झौता गर्नेले सम्झौता गराउनेलाई प्रतिवेदन बुझाउनु पर्ने करार सम्झौतामा उल्लेख गरिएको छ । सम्झौतामा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, प्रमुख प्रसाशकीय अधिकृत, महाशाखा प्रमुख, शाखा प्रमुखसँग सम्वन्य गरी योजनाहरुलाई अघि बढाउनुका साथै भ्रष्टाचारजन्य क्रियाकलापसमेत हुन नदिने सम्झौतामा उल्लेख गरिएको छ । कार्यसम्पादन प्रगतिलाई कार्य सम्पादन मूल्यांकनसँग आबद्ध गरिनेछ ।
करारले सेवालाई थप चुस्तदुरुस्त, कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउन, परिमाणमा आधारित उपलब्धी हाँसिल गर्न, समृद्ध र स्मार्ट महानगर निर्माण गर्न यो सम्झौता गरिएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।महानगरपालिकामा काम नभएको होइन, अझै जनताको गुनासो नआउने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन पनि दिनुभएको छ ।यस्तै भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले स्थानीय जनतासग खुसी हुने गरी कार्य सम्पादन महानगरका मातहतका कर्मचारीलाई आग्रह गर्नुभयो ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले इमान्दर र कर्तव्यनिष्ठ भएर समृद्ध महानगर निर्माणमा जुट्न सम्पूर्ण कर्मचारीलाई अनुरोध गर्नुभएको छ । सम्झौतामा उल्लेख भएको जिम्मेवारीलाई अक्षरस पालना गरी मैदानमा उत्रन आग्रह गर्नुभयो ।वडा नम्बर १ का सचिव मधुराम दवाडीले करार सम्झौता अनुसार नै कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडा सचिव दवाडीले महानगरको मर्म र भावना अनुसार सबैसँग सम्वन्य गर्दै अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
यो सम्झौता गरेपछि महानगरको सेवा प्रवाह छिटो छरितो र गुणस्तरीय हुने, विकास निर्माणको कार्यमा थप गतिशिलता हुने, निर्धारित समयमा कार्य सम्पादन हुने र स्थानीय तहहरुको वार्षिक रुपमा हुने स्वमूल्याङ्कनको कार्यमा थप उपलब्धी हासिल हुने विश्वास लिइएको छ ।
यही करार सम्झौता अनुसार कार्य सम्पादन भएका आधारमा कर्मचारीको वृत्ति विकास, दण्ड र पुरस्कृत गर्ने महानगरले जनाएको छ । यस अघि प्रमुख प्रशासकीय अधिकृतसँग महाशाखा, शाखा र वडा सचिवबीच सम्झौता हुने भएपनि महानगर प्रमुख र उपप्रमुखसँग यो पहिलो पटक सम्झौता भएको हो । यो सम्झौताले महानगरको कार्य सम्पादनमा थप सुधार हुने अपेक्षा गरिएको छ ।


