भाद्र १६ ,काठमाडौं । प्रदीप खड्का र क्रिस्टिना गुरुङ अभिनित बहुप्रतीक्षित चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर रिलिज भएको छ । जी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक ट्रेलरमा लडाइँ र प्रेमका दुई आयामलाई चित्रण गरिएको छ ।
कुल मिलाएर ‘प्रेमगीत’को तेस्रो श्रृंखला राजयोग र प्रेमयोगबीचको द्वन्द्व हो । राजयोगमा जन्मिएको प्रेम नामक पात्रको जीवनमा गीत नामक युवतीको प्रवेश भएपछि आउने उतारचढाव फिल्ममा देखौन खोजिएको छ ।बाहुबली र केजीएफजस्ता ब्लकबस्टर फिल्ममा स्वर दिएका कलाकारको स्वरांकन सुन्दा हामीलाई ‘प्रेमगीत ३’ मा त्यो नोस्टाल्जिया महसुस हुन्छ ।
‘प्रेमगीत ३’ मा प्रदीप र क्रिस्टिनाका सगै शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारहरुको अभिनय रहेको छ ।
हिन्दीमा डब गरेर भारतमा प्रदर्शन हुन लागेको ‘प्रेमगीत ३’ पहिलो नेपाली चलचित्र हो । यसअघि सार्वजनिकचलचित्र को हिन्दी भर्सनको टिजरलाई दर्शकहरुले मन पराएका छन् । ‘प्रेमगीत ३’ बडा दशैंको अवसर परेर आगामी असोज ७ गतेबाट नेपालसँगै भारतमा एकसाथ प्रदर्शनमा आउदैछ ।‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई असोज १४ गते नेपालमा रिलिजको तयारी गरिएको त छ, तर यसबारे निश्चित भइसकेको छैन ।
चलचित्रलाई स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको हुन् ।‘प्रेमगीत ३’ लाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।


