असोज ४, चितवन । चितवनका दूग्ध किसानहरुले विदेशबाट दूध आयातमा लागेको प्रतिवन्ध फुकुवा गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संस्थाले आज (मंगलबार) पत्रकार सम्मेलन आयोजना गरेर उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो । सरकारले स्वदेशमा नै लगानी गरेर किसानलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै विस्थापित गर्न खोजेकोप्रति पनि संघले आपत्ति जनाएको छ ।
२०७५ सालमा नेपालमा विदेशबाट दूध आयातमा रोक लगाईएको थियो । हालै मात्र सरकारले निजी डेरीहरुलाई एक लाख २० हजार लिटर दूध आयातका लागि अनुमति दिएको छ । संघले सरकारको उक्त निर्णयको विरोध गरेको हो ।
संघका अध्यक्ष रत्नमणी न्यौपानेले दूध आयातको निर्णयमा पुनर विचार गर्न सरकारसँग आग्रह गरे । माग बढे उत्पादन बढाउन किसानहरु तयार रहेको भन्दै उनले सरकारले निर्णय फिर्ता नगरे जस्तो सुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिए । उनले सरकारको उक्त निर्णयमा संघको केन्द्रीय समितिले पनि समर्थन जनाउनु दु:खद भएको समेत बताए ।
यस्तै उनले किसानसँग उधारो दूध लिएर महिनौंसम्म भुक्तानी नगर्ने निजी डेरीहरुले विदेशबाट दूध ल्याउन लागेको प्रति पनि आपत्ति जनाए । उनका अनुसार चितवनका निजी डिरी व्यवसायीले किसानलाई करोडौं रुपैयाँ तिर्न बाँकी छ ।
संघका सचिव किशोर बगालेले भारतबाट दूध आयात भए बाटोमा रोकेर नष्ट गरिदिने चेतावनी दिए । ‘बाटो यही हो । आपँटारीमा हुँदै जाने त हो नि । ट्याङ्कर खाली जान्छ कि दूध लिएर जान्छ ख्याल गर्नुहोला’, बगालेले भने ।
उनले भारतबाट गुणस्तरहीन दूध आयात गर्न लागेको समेत बताए । ‘पटना र यहाँ दूधको मूल्य लगभग बराबर नै छ । पटनाबाट आयात गरेर क्याएको दूध र यहाँको दूधमा कुन सस्तो हुन्छ ? यहाँ सस्तो हुने भएको गुणस्तरहीन दूध हो । गुणस्तरहिन दूध ल्याएर यहाँ बेच्न खोज्ने ?’, उनले भने ।
उनले माग बढेको हो भने उत्पादन बढाउन किसानहरु तयार रहेको बताए । ‘माग बढेको छ । किसानहरु उत्पादन बढाउन तयार छन् । सरकार उत्पादन बढाउने कार्यक्रम लिएर किसानसम्म पुग्नुपर्यो’, उनले भने ।
चितवनमा ६८ हजार ९११ दूधालु गाई भैंसी छन् । जसबाट दैनिक तीन लाख ५० हजार दूध उत्पादन हुने गरेको छ । चितवनमा उत्पादन हुने दूध यही खपत गरेर ४५ प्रतिशत दूध काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, कास्कीलगायतका जिल्लामा आयात हुने गरेको छ ।


