माघ १३ , काठमाडाैं । अनमोल केसी अभिनित फिल्म ‘छड्के २.०’को टिजर सार्वजनिक भएको छ । फिल्मको केन्द्रीय कथावस्तु र द्वन्द्वलाई टिजरले राम्रोसँग स्थापित गर्न सकेको छ । टिजरले पात्र चित्रण पनि खुलाएको छ । रिलिज मितिलाई भ्यागुता कराउने दिन भनेर टिजरमा उल्लेख गरिएको छ ।
ग्याङस्टर मनोविज्ञान सिर्जना गर्ने टिजरको ब्याकग्राउड स्कोर र रङ संयोजन पनि आकर्षक लाग्छ । हिमालपारिको जिल्ला मनाङमा छायांकन गरिएको फिल्मको टिजरले त्यहाँको प्राकृतिक स्रोत हत्याउन संघर्ष गर्ने तीन ग्याङको कथा भन्छ । मेनडग चरित्रमा देखिएका अनमोलले फिल्ममा ग्रीन ग्याङको प्रतिनिधित्व गरेका छन् ।
रविन तामाङ साम्तेन, निगम श्रेष्ठ खजुरे, रेशा आले मगर यांकीको चरित्रमा देखिएका छन् । निर्देशक समेत रहेका श्रेष्ठ पनि फिल्मको प्रमुख चरित्रमा देखिएका छन् । दश वर्षअघिको फिल्म ‘छड्के’को सिक्वेलको रुपमा यो निर्माण भए पनि कथावस्तु चाहिं भिन्न देखिन्छ ।
‘छड्के २.०’ आगामी फागुन १९ गते रिलिज हुँदैछ । प्रशान्त गिरी र देवकुमार श्रेष्ठले फिल्म निर्माण गरेका हुन् । निर्वाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा फिल्म बनेको हो । कार्यकारी निर्मातामा निर्वाना फिल्मसहित लक्ष्मण काफ्ले पनि छन् ।


