फागुन १४ , काठमाडौं । नायक पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको हो । यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् ।
उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो ।न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।
तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो। एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् । शाह एक वर्षयता कारागारमा छन्।


