फागुन २४ , काठमाडौं । फागुन १९ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ४’ ले अहिले देशभरका सिनेमा घरमा सानदार कमाई गरिरहेको छ । मंगलबार सम्म फिल्मले करिब ८ करोड कलेक्सन गरिसकेको छ । देशभरिका हलमा दर्शकले फिल्मको टिकट समेत पाउन मुस्किल भएको बताएका छन् । ‘छक्का पन्जा ४’ प्रदर्शनमा आएको पहिलो हप्ता नै १० करोडको व्यापार नजिक पुगेको छ ।आज बुधबार नारी दिवस सार्वजनिक बिदा भएको हुदा फिल्मले आज पनि उक्रिस्ट व्यापार गर्ने देखिएको छ ।
‘छक्का पन्जा ४’ देशभरि नै हाउसफुलको व्यापार गरिरहदा निर्माण युनिटले नयाँ गीत ‘सिरुपाते जुँगामा’ सार्वजनिक गरेको छ । मंगलबार ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा बाबुल गिरीको स्वर, शंकर अधिकारीको शब्द र बाबुलकै संगीत तथा संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा दीपकराज गिरी र बेनिशा हमाललाई देख्न सकिन्छ । हेमराज विसीको निर्देशन रहेको फिल्ममा दीपक र बेनिशासँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, बेदना राईलगायत कलाकारको अभिनय छ ।
फिल्मको कथा दीपकराज गिरीले आफैले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायांकन रहेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुतिमा निर्माण भएको फिल्मले राजनीतिक विषय कथाको रुपमा उठाएको छ ।


