फागुन ३० , काठमाडौँ । विकास आचार्यको निर्देशन रहेको फिल्म ‘नाइँ नभन्नु ल ६’ को पहिलो गीत ‘दिउँला माया’ सार्वजनिक भएको छ । गीतको भिडियोमा आँचल शर्मा र आशिर्वाद बराल फिचर्ड छन् । बेनिशा पौडेल र शरद शंकरको स्वर रहेको गीतमा गायक शंकरकै संगीत छ ।
नयाँ वर्षको अवसर पारेर आगामी बैशाख १ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा आशिर्वाद र आँचलसँगै केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, निखिल उप्रेतीका छोरा अर्थवको पनि मुख्य भूमिका छ । अनुभव रेग्मी भने यसमा केमियो भूमिकामा छन् । फिल्मलाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन् ।
आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् । फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।


