चैत्र २० ,चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघिको निर्वाचनमा विजयी भएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए ।लामिछाने पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मतदान २०८० वैशाख १० गते हुनेछ ।

उम्मेदवारी दर्ता पछि पत्रकारहरु सग प्रतिक्रिया दिदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट उत्साहित र आशावादी रहेको बताएका छन् । उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको बताए ।
‘पहिले यही प्रक्रियाबाट गएको, अहिले फेरि यही प्रक्रियामा जाँदा केही अनौठो लागेको छ,’ उनले भने, ‘राजनीतिक जीवनमा, मान्छेको जीवनमा भइरहने घटना हुन् ।’आफूले जीवनमा यस्ता किसिमका परिस्थितिहरुको सामना गर्दा केही अनौठो लागेको बताउँदै उनले भने, ‘म एकदमै आशावादी छु, उत्साहित छु ।’

उनले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गरेका हुन् ।यस्तै, कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३ बजे र राप्रपाले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्ने तय भएको छ ।
लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् ।


