चैत्र २७ , चितवन। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई समन्वय गर्नको लागि औचित्य पुष्टि गरेर आउन आग्रह गरेका छन् । सोमबार बिहान चितवनको भरतपुरमा प्रेस सेन्टर चितवनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री श्रेष्ठले संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गर्न प्रतिवद्ध रहेको बताउँदै समन्वयका लागि लागि औचित्य पुष्टि गरेर आउन आग्रह गरेका हुन् ।
उनले भने, ‘संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गरेर संविधानले दिएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध छ । तर त्यसो भनेको अर्थ स्थानीय सरकार वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न चै अनुरोध मात्रै गर्न जानकारी दिएर हुँदैन ।’
‘यो बारेमा मैले काठमाडौं महानगरपालिकाका प्रमुखलाई प्रस्ट भनेको छु तपाईले गर्न खोजेको कामको औचित्य पुष्टि हुने गरी तथ्य रुप दिने गरी निष्कर्षमा त पुग्नु पर्यो नि,’ गृहमन्त्री श्रेष्ठले भने,’तपाई आफैले मात्रै गर्न सक्ने काम भए तपाईंको कार्यक्षेत्रमा हामी कुनै पनि हस्तक्षेप गर्दैनौं । तर तपाईले प्रदेश सरकार र संघीय सरकारको संलग्नतामा कुनै सहयोग चाहिँएको छ भने हामीले गर्ने प्रक्रिया ती कुरालाई हामीले गर्ने प्रक्रियामा ठिक छ भन्ने तथ्य सम्वत छ भन्ने कुरा राख्नु पर्छ ।’
उनले काठमाडौं महानगरका प्रमुख बालेनलाई समन्वय गर्नको लागि औचित्य पुष्टि गरेर आउन अनुरोध गरे । मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउने केही दिनअघि फेसबुकबाट घोषणा गरेका थिए । उनले संघीय सरकारले स्थानीय सरकारका कुरा नसुनेको र समन्वय नगरेको आरोपसमेत लगाएका छन्।
कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले विषादी परीक्षणजस्तो महत्वपूर्ण विषयमा मन्त्रीहरुले मात्र निर्णय गर्न नहुने भनेर विषयगत समितिमा पठाइएको जानकारी दिए ।
‘मन्त्रिपरिषद्ले फिर्ता गरेको छैन । मन्त्रिपरिषद्ले त्यो विषय समितिमा पठाएको छ । यस्तो महत्वपूर्ण विषय मन्त्रीहरुले एकछिन आएर ल ठिक छ वा बेठिक छ भन्न मिल्दैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘सम्बन्धित समितिमा पठाउनु आवश्यक थियो ।’
यसअघि समितिहरु गठन नहुँदा निर्णय हुने स्थिति नभएको भन्दै उनले अहिले समिति गठन भइसकेकाले यो विषय छिटो टुंगो लाग्ने बताए । ‘सम्बन्धित समितिले छलफल गरेर टुंगो लगाउँदैछ । त्यो छिटो हुन्छ,’ उप्रधानमन्त्री श्रेष्ठले भने, ‘पहिलो प्राथमिकतामा राख्या छ ।’उनले सीमा क्षेत्रबाट हुने तरकारी र पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न सुरक्षा निकायलाई कडा निर्देशन दिइएको जानकारी पनि दिए ।


