बैशाख १८ , चितवन। प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारको जुनसुकै समयका फाइल खोल्न सरकार तयार रहेको दाबी गरेका छन । प्रेस सेन्टर चितवनले आज भरतपुर शिवनगरस्थित प्रधानमन्त्री निवासमा आयोजना गरेको पत्रकारसग प्रधानमन्त्री कार्यक्रममा उनले वर्तमान सरकार भ्रष्टाचारिलाई जोगाउने पक्षमा नरहेको दावी गरेका हुन ।
प्रधानमन्त्री दाहालले रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्रीले भ्रष्टाचार फाइल खोल्न तयार नभएको भनी लगाएको आरोप सत्य नभएको दाबी पनि गरे । प्रधानमन्त्री दाहालले रवि लामिछानेसग सरकारमा सहभागी हुने बिषयमा हिजोमात्रै छलफल भएको र छिट्टै सरकार आउने दावी समेत गरे ।
प्रधानमन्त्रीले सरकारले अयोग्य लडाकुलाई दिने भनिएको २ लाख रुपैयाँ २०७१ सालमै निर्णय भएको र अदालतले पनि दिनु भनी आदेश दिएकाले एकैपटक नभएपनि किस्ताबन्दीमा दिन लागिएको स्पष्ट पारे ।
प्रधानमन्त्री दाहालले लडाकुलाई रकम दिने बिषय नबुझेर मात्रै विरोध भएको टिप्पणी समेत गरे । अहिलेको सरकार पाँच बर्ष नै टिक्ने दाबी पनि उनको थियो । सरकारले युवा र कृषि लक्षित हुने र अहिलेको अर्थतन्त्र सहज बनाउने गरि बजेट बनाइरहेको पनि प्रधानमन्त्री दाहालले जानकारी दिए । प्रधानमन्त्री दाहाल आज चितवन र नवलपुरमा आयोजित अन्य कार्यक्रममा सहभागी हुनेछन ।


