असार २८ , काठमाडौँ । मन्त्रिपरिषद्ले काभ्रेको बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले बाहुनडाँडा वनको २.५०८५ हेक्टर जग्गा स्टुडियो निर्माणका लागि दिने निर्णय भएको जानकारी गराइन् ।
नेपाल सरकारले फिल्म छायांकनका लागि काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका वडा नं. १० र १३ अन्तर्गत बाहुनडाँडा सामुदायिक वनको जग्गामा स्टुडियो निर्माण गर्न दिने भएको छ । आर्थिक २०८०-०८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माण गर्ने योजना समावेश थियो ।यो स्टुडियो निर्माणका लागि २० करोड बढी लागत लाग्ने अनुमान गरिएको छ ।



