विकास बोर्डमा ‘एक भागवत गिता’ बारे निर्णायक छलफल
काठमाडौं, २४ भदौ
चलचित्र ‘एक भगवत गीता’ले आजै सेन्सरको सिफारिस पाउने भउको छ । ‘एक भगवत गीता’को नाममाथि उत्पन्न विवादलाई लिएर आज चलचित्र विकास बोर्डले निर्णायक छलफल बोलाएको छ । बोर्डले आजै सेन्सरका लागि सिफारिस दिने विकास बोर्डको स्रोतले जनाएको छ । यो भन्दा अथाडी विकास बोर्डले चलचित्रको सेन्सर रोकेको भनेर गलत प्रचार गरिएको थियो । विकास बोर्डले शुक्रवार नै सेन्सरको सिफारिस दिने भनेको थियो, तर निर्माण पक्षले नाम थप परिमार्जन गरी धार्मिक समूहहरूलाई पनि सहमतिमा ल्याएर आइतबार लिने भनेपछि सेन्सर रोकिएको हो ।
आज बोर्डले चलचित्रको नाममाथि आपत्ति जनाएका धार्मिक संघ संस्थाहरूलाई निर्णायक छलफलका लागि बोलाएको हो । नाममाथि सहमति जुटे पनि नजुटे पनि बोर्डले सिफारिस नरोक्ने स्रोतको भनाइ छ । आजको छलफलमा बोर्डका पदाधिकारी, धार्मिक समूहहरूको प्रतिनिधि, निर्माता संघका प्रतिनिधि र चलचित्र निर्माण पक्ष सहभागी छ । हिन्दूहरुको महान् ग्रन्थको नाममा दुरुपयोग गरिएको भन्दै धार्मिक समूहहरूले विकास बोर्डमा निवेदन दिएका थिए । निर्माण पक्षले भने फिल्मले श्रीमदभागवत गीतालाई अवहेलना नगरेको र फिल्मको कथावस्तु धार्मिक नभएको प्रष्टीकरण दिइरहेको छ । फिल्म रिलिज हुने संघारमा सेन्सर रोकिएपछि निर्माण पक्ष तनावमा परेका छन् ।
यसैबीच, चलचित्रकी निर्देशक झरना थापाले हिजो मध्यरातमा फेसबुकमा पीडादायी स्टाटस लेखेकि छिन् । उनले चलचित्रबाट श्रीमदभागवत गीताको अवहेलना नभएको प्रष्ट पार्दा पनि सेन्सर सिफारिस नदिइएको बताएकी छन् ।


