काठमाण्डौ, भदौ २९
सम्भावना बोकेका दुई नेपाली चलचित्रहरु एकसाथ रिलिज हुँदैछन् । अभिनेता विपिन कार्की स्टार ‘एक भगवत र एक गीता’ र अर्का अभिनेता दयाहाङ राई स्टार ‘नांगो गाउँ’ एक्कै साथ आज (शुक्रबार)बाट प्रदर्शनमा आउदैछ । यी दुवै चलचित्रमा सुपरस्टार कलाकारहरुले अभिनय गरेका छन् । दिपेन्द्र लामा निर्देशित तथा लिखित चलचित्र ‘नांगो गाउँ’ मा दयाहाङ राई र नायिका मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी राणा, कर्मा लगायतले साथ दिएका छन् भने ‘एक भगवत र एक गीता’ मा विपिनसँगै अर्का नायक धिरज मगर र नायिका सुहाना थापाको प्रमुख भूमिका छ ।
‘एक भगवत र एक गीता’ सुहाना इन्टरटेनमेन्ट्बाट बनेको चलचित्र हो । जसलाई नायिका तथा निर्देशक झरना थापाले निर्देशन गरेको छ भने सुनिलकुमार थापाले निर्माण गरेका हुन् । सुहाना, सुनिल र झरनाकी छोरी हुन् । एक वाक्यमा भन्नुपर्दा ‘एक भगवत र एक गीता’ सुहानाको आफ्नै होम प्रोडक्सन फिल्म हो । ‘एक भगवत एक गीता’ चलचित्रको नामलाई लिएर निकै लफडा भयो । केही धार्मिक संस्थाले नाममा आपत्ति जनाएपछि चलचित्र विकास बोर्डले सेन्सर सिफारिस दिएको थिएन । यो विवादले चलचित्रलाई व्यापक चर्चामा ल्यायो । यति विवाद खेपेको चलचित्र कस्तो बनेको छ भन्ने दर्शकमा कौतुहलता जागेको छ ।
यता दयाहाङ र मिरुनालाई चलचित्र क्षेत्रमा चर्चित जोडीको रुपमा लिने गरिएको छ । ‘जारी’ पछि उनीहरुलाई फेरी दर्शक हेर्न आतुर छन् ।धीरज र सुहानाको नयाँ जोडीले पनि युवा पुस्तामा कौतुहलता सिर्जना गरेको छ । सुहानाले अभिनय गरेको पहिलो फिल्म ‘ए मेरो हजुर ४’ बक्स अफिसमा हिट भएको थियो । यस्तै, धीरज पनि उदियमान सुपरस्टार कलाकार हुन् ।


