काठमाडौं, कात्तिक २७
चलचित्र विकास बोर्डले भारतको प्रतिष्ठित गोवा फिल्म फेस्टिभलमा नेपालको स्टल राख्ने भएको छ । यसबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अर्थसँग बजेटका लागि सहमति मागेको छ । बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार अर्थ मन्त्रालयमा पुगेर गोवा फेस्टिभल अन्तर्गतको फिल्म बजारमा स्टल राख्नेबारे छलफल गर्नु भएको छ । बोर्ड प्रवक्ता केएल बुढाथोकीले गोवा फिल्म फेस्टिभलमा स्टल राख्नेबारे बजेटसहितको माग गरिएको बताउनु भयो । यसका लागि ६–७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
नेपालले अहिलेसम्म आधिकारिक रुपमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा स्टल राखेको छैन । ‘गोवामा स्टल राख्ने निर्णय भएको छ । अब मन्त्रीले सदर गर्न मात्र बाँकी छ,’ प्रवक्ता बुढाथोकीले भन्नुभयो, भारतको एनएफडीसीले नेपाललाई यसबारे लिखित रुपमै पत्राचार गरेपछि यसबारे निर्णय गरेको उहाँले बताउनु भयो ।
नेपालले ठूला फिल्म फेस्टिभलमा बजारीकरणको मौका गुमाएको भन्दै फिल्मवृत्तबाट पटक–पटक आलोचना हुने गरेको छ । कोरियाको बुसान फिल्म फेस्टिभलको सदस्य भए पनि नेपालले त्यसबाट लाभ लिन चुकेको टिप्पणी पनि हुने गरेको छ । भेनिस, टोरन्टो, कान्सजस्ता ठूला फेस्टिभलमा बोर्डको उपस्थिति शून्यप्रायः छ । गोवा फिल्म फेस्टिभल नोभेम्बर २० देखि २८ सम्म आयोजना हुँदैछ ।


