बुटवल, कात्तिक २७
नेपाल चलचित्र बिकास बोर्ड र चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलका सिनेमा हलहरुको सोमबार समग्रमा निरीक्षण गरेको छ । बोर्डका सदस्य तथा प्रवक्ता केएल बुढाथोकी सहित चलचित्र पत्रकार संघ रुपन्देहीको नेतृत्वमा बुटवलका केहि फिल्महलहरुको निरीक्षण तथा मोफसलमा फिल्म व्यापारको अवस्थाबारे अन्तरक्रिया गरिएको हो ।
विश्वव्यापी कोरोना महामारी तथा आर्थिक मन्दीसँगै देशभरका सिनेमाहलहरु मर्कामा परेको बताउँदै चलचित्र बिकास बोर्डका सदस्य एबम प्रवक्ता बुढाथोकीले फेरि पहिलेकै अवस्थामा ल्याउने गरि बोर्ड लागिपरेको बताउनु भयो । विशेष गरि मोफसलमा हलहरुमा दर्शक ल्याउने गरि आफ्नो पहल सधै जारी रहने उनले प्रतिवद्धता गरेका छन् । चलचित्र पत्रकार संघ रुपन्देहीका पूर्व अध्यक्ष सुमन श्रेष्ठले विगतदेखिनै मोफसललाई केन्द्रले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् । श्रेष्ठले बुटवल लगायत काठमाडौं बाहिरका शहरहरुमा पनि सुविधा सम्पन्न र स्तरीय फिल्महलहरु थपिने क्रम बढेको बताउँदै चलचित्रको व्यापार विस्तारका लागि दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।
चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले मोफसलमा रहेर काम गरिरहेका पत्रकार तथा रङ्गकर्मीका लागि राज्यले आवश्यक लगानी गर्न नसकेको गुनासो गर्नु भयो । समग्र चलचित्र क्षेत्रको विकासले पर्यटन बिकासलाइ समेत टेवा पुर्याउने बताउदै न्यौपानेले सरकारले यसको लागि बिशेष पहल गर्नुपर्ने बताएक छन् ।
निरीक्षणका क्रममा बुटवल भाटभटेनिमा रहेको क्यूएफएक्सका व्यवस्थापक महेश्वर गिरी, भ्यूसिनेमाज बुटवलका सञचालक प्रेमप्रकाश श्रेष्ठ, तथा क्यूबक्स बुटवलका सञ्चालक महेन्द्र नारायण श्रेष्ठले आफ्ना समस्याहरु बारे चलचित्र पत्रकार र बोर्डलाई जानकारी गराएका थिए ।


