काठमाडौँ, मंसिर ७
फिल्म ‘सतीदेवी’को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण युनिटले बिहीबार फष्टलुकको रूपमा सार्वजनिक गरेको पोस्टरमा अभिनेत्री मलिका महत देखिएकी छन् । पोस्टरमा उनको सामान्य अवतार भने छैन । जुत्ताको मालासहित कालोमोसो दलेर गाउँलेले लखेटिरहेको र उनी भागिरहेको देख्न सकिन्छ । गाउँले युवतीको गेटअपमा त्रसित मनोविज्ञानसहित भागिरहेकी पोस्टरले हाम्रो समाजको चित्रण गरेको छ । जहाँ अहिले पनि परिवर्तनले छुन सकेको छैन ।
फिल्म ‘सतिदेवी’ लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् । फिल्मले देशमा जतिनै परिवर्तन आएपनि परिवर्तित हुन नसकेको महिला, दलित र अपहेलितको कथा विषय बनाएको छ । पोस्टरमा मार्फत आफूले पनि त्यही विषय झल्काएको निर्देशन सुवेदी बताउँछन् । ‘एकै खालका विषयवस्तुमा वाक्क भएका दर्शकका लागि मेरो फिल्मले नयाँ स्वाद पक्कै दिनेछ’ सुवेदीले थपे । छोरी पात्रलाई अहिलेसम्मकै फरक र बलियो रूपमा आफूले फिल्म पेस गरेको दाबी गर्ने सुवेदीको फिल्म मार्फत एक किसिमको क्रान्ति गर्न खोजेको धारणा छ ।
बाबुछोरीको कथा समेत भन्ने फिल्मले समाजमा हुने छोराको चाहना, छोरीको महत्वलगायतको विषय समेत गहिरिएर देखाउने बताइन्छ ।फिल्ममा मलिकाको अलवा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् । फिल्मको लेखन, गीत, निर्माण समेत सुवेदीकै हो । फिल्मको रिलिज मिति यसै वर्षको अन्त्य बताइएको छ ।



