नवल खड्काको निर्माण तथा निर्देशनमा बनेको चलचित्र काँडेतारको प्रचारप्रसार गर्न चलचित्र निर्माण टोली चितवन आईपुगेको छ । पुस २१ गते इन्द्रदेव चलचित्र हलमा काँडेतारको च्यारिटी शो गर्न टोली चितवन् आईपुगेको हो । चलचित्रमा देशभक्ति झल्कने विषयवस्तु समेटिएको चलचित्रका निर्माता एवम् निर्देशक नवल खड्काले जानकारी दिए का छन्।
चलचित्र पत्रकार संघ चितवन शाखाले शुक्रबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खड्काले नेपालले आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने सन्देश दिने खालको चलचित्र बनेको बताए । सिमानामा नेपाली जनताले भोग्नु परेको समस्या र समाधानलाई चलचित्रमा उत्कृष्ट किसिमले प्रस्तुत गरिएको छ ।
त्यस्तै, चलचित्रले नेपाल–भारत सीमाको सुरक्षार्थ खटिने क्रममा घाइते तथा मृत्यु भएका सुरक्षाकर्मीको परिवारलाई सघाउने छ । चार करोड रुपैयाँ लगानीमा बनेको चलचित्र काँडेतार आगामी फागुन २५ गते देशभर प्रदर्शनमा आउनेछ । ‘हामीले यस चलचित्रबाट नेपालको सीमानामा काँडेतार लगाएर नेपाल र नेपालीलाई सुरक्षाको प्रत्याभूति दिन आवश्यक भइसकेको चलचित्रबाट सरकारलाई घचघच्याउन खोजेका छौं’, निर्देशनमा खड्काले भने ।
शिवम अधिकारी र नवल खड्काको लेखन रहेको काँडेतार सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन् ।


