२३ चैत्र,पूर्वीनवलपरासी — अभिनेता पल शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो । तनहुबाट आएको सुरक्षाकर्मीको टोलीले बुधबार राति ९ बजे शाहलाई तनहुँ लगेको छ ।
वैशाख ७ गते पुनः जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुन भनिएको छ । त्यस्तै अर्का मुद्दामा तनहुँ अदालतको फैसलाअनुसार पुर्पक्षका लागि शाह थुनामा रहेका छन् ।
किशोरीको उमेर मुद्दा दर्ता गराउँदा १५ वर्ष ८ महिना ४ थियो । १४ देखि १६ वर्षकी किशोरीलाई बलात्कारको अभियोग पुष्टि भए १२ देखि १४ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ । पीडित भनिएकी किशोरीले ४ लाख नगद र अन्य क्षतिपूर्ति पाउनुपर्ने माग गरेकी छन् । अधिवक्ता गणेश अधिकारीले पीडित भनिएकी किशोरीबाट दिइएको उजुरी झुठो र फसाउने नियतले आएको देखिन्छ भनेका थिए । उनीलगायत ९ जना अधिवक्ताले शाहको पक्षबाट बहस गरेका थिए । सबै अधिवक्ताले शाहलाई काल्पनिक मुद्दा लगाएर फसाउने षड्यन्त्र भएको दाबी गरेका थिए । शाह विरुद्धको अभियोगमा सबै प्रमाण जुटाउन र मुद्दाको किनारा लगाउन कम्तीमा एक वर्ष समय लाग्ने अधिवक्ताको भनाइ छ ।
यता पीडित किशोरीको पक्षबाट बहस गरेका ३ जना सरकारी वकिल र २ अघिवक्ताले शाहले बलात्कार गरेको यथेस्ट प्रमाण भएको दाबी गर्दै किशोरीको मागबमोजिम १२ देखि १४ वर्ष कैद सजायको मागदाबी गरेका थिए । तीन जना सरकारी वकिलले शाहलाई हदैसम्मको सजाय हुन पर्ने माग गरेका छन् ।
जिल्ला अदालत पूर्वी नवलपरासीमा बुधबार पीडित किशोरीका तर्फवाट ३ जना सरकारी वकिलले बहस गरेका छन् । सरकारी वकिल कमलराज पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले पीडित किशोरीको किटानी जाहेरीका आधारमा शाहलाई हदैसम्मको कैद सजाय हुनुपर्ने माग गरेका छन् । जाहेरीवालका किशोरीका तर्फबाट अधिवक्ता सरिता तिवारी र भूपेन्द्र खनालले बहस गरेका थिए ।
किशोरीको पक्षबाट बहस गरेकाहरुले पीडितको निवेदन र माग दाबी बमोजिम १२ देखि १४ वर्ष कैद सजाय हुनुपर्ने माग गरेका छन् । बुधबार दिउँसो १ बजे सरकारी वकिलको बहस सकिएको थियो । बुधबार दिउँसो सवा १ बजेपछि पल शाहका तर्फबाट ९ जना वकिलले बहस सुरु गरेका छन् । प्रतिवादी शाहका पक्षबाट बहस गरेका वकिलहरुले किशोरीले शाहलाई झुठो आरोप लगाएर फसाउन खोजेको दाबी गरेका छन् । ‘पल शाहलाई किर्ते गरेर फसाउन खोजिएको छ, शाह निर्दोष छन्,’ अधिवक्ता गणेश अधिकारीले भने, ‘बिनाप्रमाण झुठा आरोप लगाएर शाहलाई फसाउन खोज्ने नियत खराब देखिएकाले उनलाई रिहा गर्नु पर्ने माग गर्यौं ।’
शाहको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय यदुनाथ खनाल, कमलामोहन वाग्ले, बारका जिल्ला अध्यक्ष चेतनारायण भुसाल, अधिवक्ता भानुभक्त सुवेदी, जनकराज ढुंगाना माधव घिमिरे लगायतले बहस गरेका थिए । उनीहरुले शाह निर्दोष रहेको दाबी गर्दै रिहाईको माग गरेका थिए ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]


