चलचित्र विकास बोर्डले ठूला अन्तर्राष्ट्रिय बजारमा ‘चलचित्र प्रतिनिधि’ तोक्ने भएको छ । लण्डनमा आयोजित समारोहमा बोर्ड अध्यक्ष भुवन केसीले विदेशमा नेपाली फिल्मको प्रदर्शन, निर्माण, बजारीकरण र प्रशासनिक समन्वयका लागि ‘प्रतिनिधि’ नियुक्त गर्ने बताउनु भएको छ ।
नेशनल डेल्फिक काउन्सिल नेपालले आयोजना गरेको ‘नेपाली चलचित्रको ६ दशक, चुनौति र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले प्रतिनिधि तोक्ने काम बेलायतबाटै हुने बताउनु भयो । तर, कसलाई तोकिनेछ भन्ने कुराको जानकारी चाहिँ काठमाडौं फर्किएपछि गर्ने उहाँको तयारी छ ।
यसका लागि केसीले आइतबार लण्डनस्थित नेपाली नियोग पुगेर राजदूत ज्ञानचन्द्र आचार्यलाई भेट्ने कार्यक्रम छ । उक्त भेटमा प्रतिनिधि चयन गर्नेदेखि बेलायतमा नेपाली फिल्मको प्रवद्र्धनमा समन्वय र सहकार्यबारे छलफल हुने जनाइएको छ । लण्डनबाट अनलाइनखबरसँग कुरा गर्दै केसीले युकेदेखि नै प्रतिनिधि चयनको काम हुने समेत बताउनु भयो ।
नेपाली फिल्मको दूत अथवा प्रतिनिधि तोकेर अघि बढ्ने चर्चा केहीवर्ष पहिलेदेखि सुरु भएको हो । ‘विदेशमा नेपाली फिल्म चलाउने, बनाउनेदेखि अन्य सहकार्यका कामको जिम्मा दिएर नै बोर्डले प्रतिनिधि तोक्नेछ’ केसीले भन्नु भयो । केसीसहितको टीमले सोमबार ब्रिटिस फिल्म कमिसन भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।


