नेपाली कथानक चलचित्र ‘काँडेतार’लाई एकल प्रदर्शन गर्न माग गर्दै उजुरी दिईएको छ ।
‘काँडेतार’ का निर्देशक नवल खड्काले फागुन २५ गते आफू निर्देशित चलचित्रलाई एकल प्रदर्शन गर्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी दिएको हो । उक्त निवेदनलाई आइतबार बोर्डले दर्ता गरेको छ ।
फागुन २५ गते ‘काँडेतार’ सहित ‘उपहार’ र ‘रंगेली’ ले पनि रिलिज मिति घोषणा गरेका छन् । गत वैशाख ११ गते ‘काँडेतार’ले प्रदर्शन स्वीकृति लिएको थियो ।
चलचित्र निर्माण, प्रदर्शन र वितरण नियमावली २०५७ बमोजिम बोर्डले दिने इजाजत पत्रको प्रकरण नम्बर (च. ४) मा प्रदर्शकले स्वदेशी वा विदेशी फिल्म प्रदर्शन गर्दा सेन्सर पास भएको मितिलाई आधार मानेर सबैभन्दा पहिले जाँचपास भएको फिल्मलाई प्रदर्शनको मौका दिनुपर्ने भन्ने व्यवस्था छ ।
चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका खड्काले उजुरीमा भनेका छन्, ‘सोही नीति नियमलाई परिपालना गरी चलचित्र काँडेतारलाई एकल प्रदर्शन गर्नका निम्ति सम्बन्धित निकायलाई निर्देशन दिई कानुन परिपालना गर्न गराउन अनुरोध गर्दछु ।’


