‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारा सहित ‘१२औं राष्ट्रिय लोक संस्कृतिक मेला २०८०’ आयोजना हुने भएको छ ।
आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहिबार राजधानीमा एक पत्रकार भेटघाट गरि मेलाको जानकारी दिएको हो ।
फाल्गुन १८ गतेदेखि २७ गतेसम्म चल्ने मेला काठमाडौं, दाङ्ग, पोखरा र ललितपुरमा आयोजना हुन आयोजक संस्था एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइरालाले बताएका छन् ।

मेलामा अष्ट्रीया, बेल्जीयम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया, पोल्यान्ड, साउथ अफ्रिका, र नेपाल लगायत राष्ट्रका विभिन्न साँस्कृतिक समुहका ३५० भन्दा बढी कलाकारहरुले भाग लिनेछन् ।
मेला २०५८ देखि प्रत्येका २ बर्षमा नियमित आयोजना हँुदै आएको छ । सुरुवातदेखि एघारौं संस्करणसम्म मेलामा करिब ८५ भन्दा बढि देशका ८५०० भन्दा बढि कलाकारहरुले घर आगनमा आ–आफनो देशको मौलिकता झल्कने झाँकी सहित बिविध लोकसाँस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको आयोजकको दाबी रहेको छ ।
‘यस पटकको महोत्सव अवधिभर कलाकारहरुले आ–आफ्नो सँस्कृति झल्कने भेष–भुषा लगाई साँस्कृतिक झाँकि गर्ने र आफ्नो लोकगीत, संगीत र लोक नृत्य प्रस्तुत गर्नेछन्’ । मेलाको फाल्गुण १९ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन हुने आयोजकले जनाएको छ ।


