आगामी फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’ का कलाकार र निर्देशक रिलिज नजिकिएसँगै प्रचारप्रसारमा कम्मर कसेर लागेका छन् ।
फिल्म युनिटले बिहीबार पत्रकारसंग फिल्मको विषयमा धारणा राख्र्दै फिल्मका निर्देशक सौरभ चौधरीले आफूले जीवनमा देखेका दुई घटनालाई कथामा उतारिएको बताएका छन् ।

फिल्ममा लकडाउन अघिको र लकडाउनको समयमा देखिएको ती घटनालाई समेटिएको छ । अभिनेता सौगात मल्लले फिल्ममा मानसिक रूपमा आफू तनावमा रहेको समयलाई अनुभूत गरेर क्यारेक्टर निर्माण र अभिनय गरेको बताएका छन् ।
‘म आफैँ पनि झण्डै–झण्डै त्यस्तै अवस्थाको नजिक पुगेर फर्किएको धेरैलाई थाहै छ । त्यसलाई पनि मैले फिल गरेको थिएँ,’ उनले भने, ‘त्यस्तो चरित्र निर्वाह गर्न शारीरिकभन्दा पनि मानसिक रूपमा गरिने काम अफ्ठ्यारो हुन्छ ।’ यो फिल्ममा दुई भिन्न चरित्रमा देखिएका सौगातले २५–२६ दिन मानसिक रूपमा समस्यामा रहेको एउटै क्यारेक्टरमा बस्दा भने आफूलाई असहज भयो।

अधिकांश फिल्ममा रोम–कमको भूमिकामा देखिएका अभिनेता नाजिर हुसेनले लामो समयपछि आफूले फरक र राम्रो चरित्रमा काम गर्न पाएको बताए । उनले आफूले फिल्ममा फरक–फरक इमोसनमा काम गरेकाले हरेक कलाकारको एउटा रहरलाई ‘अगस्त्यः च्याप्टर १’मा पुरा गरेको बताएका छन् ।
अभिनेत्री मलिका महतले आफू भन्दा अग्रज कलाकारसँग् काम गर्दा दबाबको महशुस भए पनि उनीहरुबाट बढी सिकाई हुने बताइन् । उनले अग्रज कलाकारबाट आफूले शक्ति पाएको बताइन् ।


