चितवन ,फागुन १९
फागुन १२ गते शनिबार चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी बालिका शालिन पोखरेलको चितवन प्रहरीले शवसँगै सुसाइड नोट पनि फेला परेको छ ।
अनुसन्धान अधिकृतहरुले शालिनले छाडेको सुसाइड नोट फेला पारेका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार नोटमा उनले लेखेकी छन्, ‘एभ्रीबडी आइएम सरी, अहिलेसम्म मैले जति गल्ती गरेँ । मम्मीबाबालाई सम्झिएको छ भनिदिनु ….’।’ प्रहरीले सुसाइड नोटसँग उनले यसअघि लेखेका नोट कपीहरुका अक्षर दाँज्दा अक्षर मिलेको पनि बताएको छ ।प्रहरीले सुसाइड नोटको फरेन्सिक जाँच गर्दैछ ।
प्रहरीले विद्यालयकै सीसी क्यामराको फुटेज पनि हेरिसकेको छ । सीसी क्यामराको फुटेजमा पनि उनी एक्लै छात्राबासको कोठामा छिरेको देखिएको घटनामा संलग्न प्रहरी अधिकृत बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले घटना भएको तेस्रो दिन आफन्तले दिएको किटानी जाहेरी दर्तापछि गरेको अनुसन्धानका क्रममा आत्महत्या नै हुनसक्ने निष्कर्ष नजिक प्रहरी पुगेको हो ।घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको छ ।
शालिन दुई वर्षदेखी सो होस्टलमा बसेर पढ्थिन् । बुवा र आमा सम्बन्ध विच्छेद गरेर उनकी आमा दुबई र बुवा काठमाडौँमा बस्छन् । पंखामा झुण्डिएको अवस्थामा प्रहरीले शव बरामद गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । उनको शव पोष्टमार्टम रिपोर्ट आएको छैन । अनुसन्धान अधिकृतहरु अहिले उनको शव पोष्टमार्टम रिपोर्ट पर्खिरहेका छन् । चितवन प्रहरीले ‘पोष्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाउने बताएको छ ।’
गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालिन पछिल्लो समय चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्थिन् ।


