चितवन ,फागुन १९ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा भएको बताउनुभएको छ ।विद्यालयस्तरीय मेयर्स कप क्रिकेट लिग प्रतियोगिताको समापन गर्दै उहाँले रंगशाला परिसरमा आउदा दिने गरेको बाचा पुरा भएको प्रष्ट पार्नुभयो।
प्रमुख दाहालले २ दिन अगाडि टेण्डरको आह्वान भएकाले केही महिनाभित्र निर्माण कार्य सुरु हुने र साढे २ वर्षभित्र निर्माणको कार्य पुरा हुने उल्लेख गर्नुभयो ।‘सम्पूर्ण नेपालीका लागि खुसीको विषय हो, आज फरक अनुभूति भएको छ,उहाँ भन्नुभयो,‘सधै यहाँ आएर रंगशाला बन्छ, बनाउने छौ मात्र भन्ने गर्दथ्यौ । अब बन्ने पक्का भएको छ ।’
उहाँले महानगरपालिकाले विद्यालयस्तरीय लिग प्रतियोगिता पहिलो पटक गरेको भए पनि पूर्ण रुपमा सफल भएको बताउनुभयो ।महानगरपालिकाले क्रिकेट मात्र होइन छिट्टै फुटबल, भलिबल र अन्य खेल पनि आयोजना गर्ने उहाँको भनाई थियो ।प्रमुख दाहालले अब पुरुषको मात्र नभइ महिलाको पनि यस्ता प्रतियोगिता हुने प्रष्ट पार्नुभयो ।
सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताउनुभयो । नेपाल क्रिकेट संघ क्यानलाई यसका लागि आवश्यक वातावरण मिलाउन अनुरोध गर्नुभयो ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् ।

यसैबीच, प्रतियोगिताको उपाधि अर्किड स्कुलले उचालेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वाल्मीकि शिक्षा सदनलाई २० रनले पराजित गर्दै अर्किड रनिङ ट्रफी हात पार्ने पहिलो टिमका रुपमा नाम लेखाउन सफल भएको हो ।भरतपुर महानगरपालिकाले आयोजनामा माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा महानगरभित्रका १० सामुदायिक र १० संस्थागत विद्यालयका २० क्रिकेट टिम सामेल थिए ।
रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालाको नमुना खेल मैदानमा सञ्चालन भएको मेयर्स कपको फाइनल खेलमा टस जितेर अर्किडले ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभर पूरै खेल्दै अर्किडले ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको वाल्मीकि शिक्षा सदनले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय १० रनमात्रै जोड्न सक्यो ।

अर्किडले एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन प्रमुख प्रायोजक रहेको प्रतियोगिताको उपाधिमात्र जितेन विधागत पुरस्कारतर्फ पनि एकलौटी कब्जा ग¥यो । फाइनल खेलमा बलिङमा २ विकेट लिएका र ब्याटिङमा ३६ रन लिएका अर्किडका मन्दिप बराल प्लेयर अफ द म्याच भए । उनै मन्दिप प्रतियोगिता अवधिभर २१ विकेट लिएका कारण बेस्ट बलर पनि भए ।
त्यसैगरी अर्किडकै सगुन सापकोटा सर्वाधिक रन लिएका कारण बेस्ट ब्याटरमात्रै भएनन् प्रतियोगिताको प्लयर अफ दि सिरिज पनि छानिए । खेल अवधिभर उनले कुल २ सय ५७ रन जोडेका थिए । उनको नाममा १४ विकेट पनि रहयो ।


