रविचन्द्र अधिकारी
काठमाण्डौ, फागुन २४
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर नेपाली फिल्ममा योगदान पुर्याउने ७ जना महिला फिल्मकर्मीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्मान गर्नु भएको छ ।
उहाँले अभिनेत्री केकी अधिकारी, प्रियंका कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल, रंग पत्रकार सारदा थापालाई जनही नगद राशि पच्चीस हजारसहित प्रमाणपत्रले सम्मान गर्नु भएको हो । कार्यक्रममा मन्त्री शर्माले फिल्मकर्ममा निरन्तर क्रियाशील महिलालाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गर्नु भयो ।

उहाँले कुनै समय अभिनय गर्न घरबाट निस्किन गाह्रो हुने महिला अहिले निर्देशक, निर्मातासँगै प्राविधिक पक्षमा समेत सक्रिय रहेको बताउनु भयो । मन्त्री शर्माले भन्नुभयो ‘अहिले छलफलमा रहेको चलचित्र ऐनले महिलालाई चलचित्र विकास बोर्ड, चलचित्र जाँच समिति लगायतमा बलियो उपस्थिति गराउने छ । त्यसले महिलालाई नेतृत्वदायी भूमिकाका लागि अवश्य तयार गर्नेछ ।’ उहाँले निर्माण हुने ऐनले उल्लेखित संस्थामा महिलाको सहभागिता अनिवार्य गराउने जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर महिला चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रमसँगै अन्य विविध सिर्जनात्मक क्रियाकलापलाई बोर्डले निरन्तरता दिने पनि मन्त्री शर्माले बताउनुभयो ।

कार्यक्रममा चलचित्रमा नारी विषयमा दुईवटा संम्बादगरि अनुभव आदान प्रदान गरिएको छ । पहिलो संम्बाद महिला सशक्तिकरणमा, महिला चलचित्रकर्मीको भुमिका, ‘हिजोआज र भोली’ विषयमा संम्बाद गरिएको छ । पहिलो संम्बादमा पुरानो चलचित्रकर्मी गौरी मल्ल, झरना थापा, केकि अधिकारी, निर्देशक रक्षासिंह राणा रहनु भएको थियो भने सारदा थापाले सहजिकरण गर्नुभएको थियो । यसैगरि अर्को संम्बाद नेपाली चलचित्रको सुरुवाती अवस्था, चलचित्र क्षेत्रमा महिलाको समस्या र चुनौती विषयमा संम्बाद गरिएको छ । संम्बादमा पहिलो नायीका भुवन चन्द, करिस्मा मानन्धर र कलाकार सिल्पा मास्के, सहितको प्यानल डिस्कशन गरिएको छ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सञ्चार मन्त्री शर्मालाई दोस्रो कार्यकालको पहिलो कार्यक्रममा स्वागत गर्न पाएकोमा खुसी खुसि व्यक्त गर्नुभयो। ‘मन्त्रीज्युसँग हामीले धेरै कार्य योजना निर्माण गरेका थियौँ । उहाँनै पुनः मन्त्री बनेर आउँदा बोर्डलाई सहज भएको छ । हाम्रो कार्ययोजनाले छिटै मुर्तरुप पाउनेछन्’, अध्यक्ष केसीले भन्नुभयो । मन्त्री शर्मा सपथ ग्रहण लगत्तै कार्यक्रममा सहभागि हुनुभएको थियो ।

बुधबार चाबहिलस्थित चलचित्र विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव रामहरी सुवेदी, चलचित्र विकास बोर्डका सदस्यहरू रवि अधिकारी, राजु केसी, केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषिराज आचार्य, प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री चैत्य देवी, करिश्मा मानन्धर, चलचित्र निर्देशक रक्षा सिंह राणा, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुस्कर लामा, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी लगायत सहभागी थिए ।


