भरतपुर ।
प्रज्ञा स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले साईकलिङ प्रतियोगितालाई थप प्रोत्सहान गर्नुपर्ने बताउनुभएको छ ।
प्रज्ञा स्मृति प्रतिष्ठानले भरतपुर–११ गणेशधाम परिसरमा आयोजना गरेको तेस्रो प्रज्ञा स्मृति साईकिलिङ प्रतियोगितालाई सम्पान गर्दै उहाँले अन्य विधाका खेलको तुलनामा साईकिलिङ प्रतियोगिता कम हुने भएकाले थप प्रोत्सहान गर्नुपर्ने उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले शनिबार भएको प्रतियोगिताको पुरुष र महिला टोलीका विजेतालाई मेलेसियामा हुने एसियन क्यालिफायर खेलकुदमा सहभागि गराइने जानकारी दिनुभयो । प्रतिष्ठानले विगतका वर्षहरु क्यान्सर सम्बन्धी सचेतनामूलक अभियान गरेको र आगामी साईकिलिङ प्रतियोगितालाई सम्पूर्ण खेलाडीलाई समेट्ने गरी परिकृत र परिर्माजित गरिने उहाँले बताउनुभयो । दिवंगत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा प्रतिष्ठानले हरेक वर्ष साईकिलिङ प्रतियोगिता आयोजना गर्दै आईरहेको छ ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद् वागमती, हेटौँडाको सहयोग तथा नेपाल साइक्लिङ संघको प्राविधिक सहयोग रहेको थियो । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र भरतपुर महानगर प्रर्बद्धक रहेको थियो भने हस्पिटल पार्टनरका रुपमा पुरानो मेडिकल कलेज सिएमएस रहेको थियो ।


