चितवन राष्ट्रिय निकुञ्जबाट कोशीटप्पु वन्यजन्तु आरक्षमा ल्याइएको मेघौली तीन दिनको कोसी टप्पु बसाइपछि पुनः चितवन फिर्ता लगिएको छ ।
चितवनको सौराहाबाट चैत्र १० गते कोसी टप्पु वन्यजन्तु आरक्षको पथरी पोस्टमा ल्याइएको मेघौली बिरामी भएपछि पुन चितवन फिर्ता गरिएको कोशी टप्पु वन्यजन्तु आरक्ष प्रमुख रमेश यादवले जानकारी दिनुभयो ।
प्रमुख यादवका अनुसार मेघौली कोशी टप्पु आएदेखि नै राम्ररी खाना नखाने र स्वास्थ्यमा समस्या आएपछि उपचार गर्न चितवन पठाइएको हो । कोशी टप्पुमा मेघौलीको उपचार सम्भव नभएपछि उपचारका लागि चितवनबाट स्वास्थ्यकर्मी, प्राविधिकहरुको टोली ट्रक लिएर कोशी टप्पु आएको थियो ।
मान्छेको सामीप्यमा हुर्किएको मेघौली कोशी टप्पुको वातावरणमा घुलमिल हुन नसक्दा खोरै भत्काएर बाहिर निक्लिने गरेको मेघौलीको मुखमा समेत घाउ भएको थियो । यसअघि असोज १० मा चितवन राष्ट्रिय निकुञ्जबाटै पुष्पा र अञ्जली नाम गरेका दुई ओटा पोथी गैँडालाई आरक्षमा ल्याइएको थियो । जैविक विविधता संरक्षण केन्द्रमै हुर्किएका पुष्पा र अञ्जली दुई ओटा पोथी गैँडा मात्रै भएपछि कोशी टप्पुमा वंश विस्तार गर्न विरु अर्थात् भाले मेघौलीलाई कोशी टप्पुमा ल्याइएको थियो ।
फिर्ता गरिएको गैँडा छ वर्षअघि पश्चिमी चितवनको मेघौली क्षेत्रमा फेला परेकाले गैँडाको नाम नै मेघौली राखिएको थियो । मेघौली क्षेत्रबाट सौराहा ल्याइएको भाले गैँडालाई राष्ट्रिय प्राकृतिक संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रको संरक्षणमा पाउडर दुध खुवाएर मान्छेकै पेरिफेरिमा हुर्काइएको थियो ।


