नेपाल पत्रकार महासङ्घ चितवन शाखाले भव्य समारोहको आयोजना गरी ४३ जना पत्रकारलाई सम्मान एवम् पुरस्कार वितरण गरेको छ ।
विसं २०५६ अगाडि नेपाल पत्रकार महासङ्घको सदस्यता लिएर क्रियाशील एवं पूर्व अध्यक्ष गरी ३४ जना पत्रकारलाई सम्मान एवं विभिन्न विधामा नौ जनालाई पुरस्कृत गरिएको हो ।
शनिबार भरतपुरमा आयोजना गरिएको अग्रज पत्रकार सम्मान एवं पुरस्कार वितरण समारोहमा भरतपुर महानरपालिका प्रमुख रेनु दाहाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेललगायतले पत्रकारहरुलाई सम्मान एवम् पुरस्कृत गर्नुभयो । पत्रकार महासङ्घमा आबद्ध भएर पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ३४ जना पत्रकारलाई ताम्रपत्र, प्रमाणपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको पत्रकार महासङ्घ चितवनका अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए । त्यसैगरी पत्रकारको लेखनकला वृद्धि तथा हौसला प्रदान गर्न नौ जना पत्रकारहरुलाई रु १० हजारदेखि रु ५१ हजार राशिसम्मको पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको अधिकारीको भनाइ छ ।
महासङ्घले स्थापना गरेको ५१ हजार १११ रुपैयाँ राशिको मैयादेवी पत्रकारिता पुरस्कार–२०८० बाट सृजना अर्याल, ५० हजार ५१ रुपैयाँ राशिको अनन्त गङ्गा पत्रकारिता पुरस्कार–२०८० बाट चाँदनी हमाल पुरस्कृत हुनुभएको छ । त्यस्तै, ११ हजार ३११ रुपैयाँ राशिको तिलचन साँखी पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकारलाई पुरस्कृत गरिएको छ । यो पुरस्कार शालिग्राम नेपाल, विमल खतिवडा र टीकादत्त तिमिल्सिनालाई प्रदान गरिएको अधिकारीले बताए ।
त्यसैगरी, औद्योगिक पत्रकारिता पुरस्कारबाट दुई जना पत्रकार पुरस्कृत भएका छन् । ११ हजार १११ रुपैयाँ राशिको यस पुरस्कारबाट सन्तकुमार चौधरी र हीरालाल गुरुङ पुरस्कृत भएका अधिकारीले जानकारी दिए । त्यस्तै ११ हजार १११ रुपैयाँ राशिको बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारबाट केशु लामिछाने र १० हजार १११ रुपैयाँ राशिको श्रुजश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट प्रतिमा कुमाल सम्मानित भएका अधिकारीले बताए ।
सम्मान एवम् पुरस्कार वितरण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अग्रज पत्रकारहरुले पु¥याएको योगदानको स्मरण गर्दै उनीहरुलाई सम्मान गर्नु ऐतिहासिक काम भएको बताइन् । दाहालले पत्रकारहरुलाई सत्य र तथ्यमा आधारित खोजमूलक पत्रकारिता गर्न आग्रह गर्दै पत्रकारहरुले गलत हुन नदिन खबरदारी गर्नुपर्ने धारणा राखिन् । पत्रकारहरुबाट महानगरपालिकाका काम कारबाहीप्रति सचेत बनाउने र खबरदारी गर्ने काम भइरहेको भन्दै आफू सधैँ स्वतन्त्र प्रेसको पक्षमा रहेको बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घले प्रकाशन गर्दै आएको स्मारिका ‘पत्रकारिता चितवन’ र सम्मानित ३४ जना पत्रकारहरुको बायोग्राफी समावेश गरेर प्रकाशन गरिएको ‘योगदान’ पुस्तकसमेत सार्वजनिक गरिएको थियो ।
नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशमणि ज्ञवालीले स्वागत मन्तव्य राखेका थिए ।



