आदिवासी जनजाति चलचित्र महासंघले आफ्नो पन्ध्रौ स्थापना दिवसको अवसरमा सम्पूर्ण जनजाति चलचित्रकर्मीहरु एक हुन महासंघको आह्वान गरेको छ ।
आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डमा एक समारोहको आयोजना गर्दै महासंघले आफ्नो स्थापना दिवस मनाउदै यस्तो आव्हान गरेको हो ।
महासंघले पन्ध्र वर्ष पछि पहिलो पटक स्थापना दिवस मनाएको हो । स्थापना दिवस समारोहमा महासंघका संस्थापक साथै महासंघमा आवद्ध विभिन्न आदिवासी जनजाति सम्वद्ध चलचित्रकर्मी संघसंस्थालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष पुर्खाजित राईले संस्थाका जन्मदाताको योगदानको स्मरण र कदर गर्दै स्थापना दिवस मनाइएको बताएका छन् । ‘संस्थामा आवद्ध भएपछि त्यसका जन्मदाताहरुलाई चिन्नु आवश्यक छ । संस्थाको नयाँ पुस्ताले अग्रजहरु चिनुन्, संस्थाको इतिहास थाहा पाओस् भनेर हामी यो स्थापना दिवस मनाउँदैछौं’ अध्यक्ष राईले भने ।
महासंघमा हाल संस्थापक संस्था ६ वटासहित विभिन्न आदिवासी जनजाति समुदायबाट १४ वटा चलचित्रकर्मी संस्थाहरु आवद्ध छन् । वि.सं. २०६६ सालमा किरात राई चलचित्रकर्मी संघका दिपेन राईको नेतृत्वमा महासंघको सुरुवात भएको थियो । राई पछि मगर चलचित्रकर्मी संघका प्रतिमाया पुनले एक कार्यकाल र सुनुवार कलाकार तथा चलचित्रकर्मी संघका अमृत सुनुवारले दुई कार्यकाल महासंघको नेतृत्व गरिसकेका छन् ।


