नयाँ वर्ष २०८१ को अबसर यही ३० चैतबाट नेपाली चलचित्र ‘द रेड सुटकेस’ नेपालमा रिलिज हुँदैछ ।
यो चलचित्रको मँगलबार बेलुका काठमाडौंमा विशेष शो आयोजना गरियो । शोमा सहभागी चलचित्रकर्मी तथा राजनीतिज्ञहरुले आम चलचित्र भन्दा द रेड सुटकेश निकै फरक लागेको प्रतिक्रिया दिएका छन् । कार्यक्रममा बोल्दै अग्रज चलचित्र निर्देशक एवम् अभिनेता नीर शाहले आफुले स्थापना गरेको कलेज आफ फिल्म स्टडिजबाट चलचित्रमा ग्राजुएसन गरेका फिडेल देवकोटा पहिलो देखि नै फरक प्रतिभाका व्यक्तित्व भएको बताएका छन् ।
लेखक बुद्धिसागरले यो चलचित्रमा आफ्नो गीत रहेको जानकारी गराउँदै फिल्मको स्कृप्ट पढेरै आफु यो चलचित्रप्रति आकर्षित भएको बताए,‘यस्तो अन्तराष्ट्रिय स्तरको चलचित्रमा गीतकारको रुपमा जोडिन पाउनुलाई मैले आफ्नो सौभाग्य मानेको छु ।’ उनले भने ।
यो चलचित्र हेरेपछि यसका अभिनेता विपिन कार्कीले सञ्चारकर्मीसँग भने,‘यस अघि भेसिन फिल्म फेस्टिबलमा यो चलचित्र हेरेको थिएँ तर आज नेपालका दर्शकमाझ हेर्दा उहाँहरुको प्रतिक्रियाले फरक अनुभव भयो ।’ आम चलचित्र भन्दा निकै फरक भएकै कारण यस्ता चलचित्रका निर्माताहरुलाई प्रोत्साहन गर्नुपछ भनेर आफुले द रेड सुटकेसमा विना पारिश्रमिक काम गरेको पनि उनले बताए,‘यो चलचित्र गर्ने समयमा मैले व्यबसायिक सिनेमा गर्दा राम्रो पारिश्रमिक पाउँथे । तर यस्तो चलचित्र जीवनमा कमै खेल्न पाईने भएकाले पनि मैले अरु चलचित्र छाडेर द रेड सुटकेशलाई महत्व दिएँ ।’ अभिनेत्री मिरुना मगरले द रेड सुटकेस क्लासिक चलचित्र बनेको बताईन्,‘मलाई यसमा रहनु भएका कलाकारहरुको काम देखेर साह्रो लोभ लाग्यो । टिमकै यसमा उच्च कोटीको काम रहेको छ ।’
यो चलचित्रमा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठलगायतको मुख्य भूमिका छ । यो चलचित्रको श्रीलँका र भातरमा प्राविधिक कार्य गरिएको हो । यो चलचित्रको सम्पादन श्रीलँकामा समन अलभितिगाले गरेका हुन् । चलचित्रको छायाँकार सुसन प्रजापति हुन् ।
यो चलचित्रको गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको थियो । यसले सो फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । चलचित्रले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो ।
त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन गरिएको थियो । फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो ।


