काठमाडौं ,बैशाख २३
गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै उनले निर्माण गर्ने चलचित्र ‘वसन्त’ को बारेमा जानकारी गराएका छन् । चलचित्रमा प्रकाश आफैँले अभिनय तथा निर्देशन गर्नेछन् । कथा र चलचित्रको संगीत पनि उनकै हुनेछ ।
कार्यक्रममा प्रकाशले आफ्नै जीवनको कथामा मिल्दोजुल्दो सिनेमा बनाउन लागेको जानकारी दिए । आफैँले देखेर भोगेको कथा चलचित्रको कथामा उतारेको उनको भनाइ छ ।
चलचित्रमा धेरै कथा आफ्नै रहेको बताएका उनले केही कुरा सिनेम्याटिक बनाउन थपिएको र केही कथा आवश्यकताअनुसार परिमार्जन गरिएको उनको भनाइ छ । अन्यथा धेरै कुरा जातीय विभेद र त्यसको सिर्जना गर्ने घटनामा सिनेमा केन्द्रित रहेको उनी स्पष्ट पार्छन् ।
‘परदेशी-२’ बाट अभिनयमा डेब्यु गरेका उनले अहिले आफैँ चलचित्र निर्देशन गर्न लागेका हुन् ।प्रकाश चलचित्रमा ‘वसन्त’को भूमिकामा देखिनेछन् । यो पात्रले दलित युवकको चरित्र निभाउने छ । उनको अपोजिटमा रहने पात्रको नाम शान्ती हुनेछ । जसले विद्रोह गरेर अन्तरजातीय विवाह गर्नेछ ।यो भूमिका स्वस्तिमा खड्काले निर्वाह गर्नेछिन् ।

कार्यकारी निर्माता अनुरोध भट्टराईले आफूले आठ वर्ष अगाडिदेखि प्रकाशलाई चिनेको र आफूले उनका हरेक सिर्जनामा कुनै न कुनै रुपमा सहयोग गर्दै आएको बताए । ‘अर्का निर्माता मोहन विश्वकर्माले सानैदेखि सिनेमा क्षेत्रमा काम गर्ने रहर भएपनि अवसर नपाएको तर अहिले निर्माणमा भएपनि आएको बताए । चलचित्रमा कार्यकारी निर्मातामा नेन्सी शेरचन पनि रहनेछिन् ।
चलचित्रको नाम सार्वजनिक गर्ने क्रममा देखाइएको छोटो भिडियोमा प्रकाश घिमिरे, अनुप बराल र कमलमणि नेपाल पनि छन् । उनीहरु चलचित्र ‘वसन्त’ कलाकार हुन् ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सिनेमालाई शुभकामना दिन प्रमुख अतिथिको रूपमा कार्यक्रममा आएका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गीतमार्फत् तीन करोड नेपालीको मन जितेका प्रकाशले सिनेमामार्फत पनि त्यस्तै लोकप्रियता कमाउने बताए । आफूले प्रकाशमा सिंगो सिनेमा उद्योगलाई बोकेर हिँड्ने क्षमता देखेको बताए । ५ मिनेटको भिडियोमा कथा भन्न सक्ने प्रकाशले सिनेमा पनि त्यस्तै क्षमता प्रस्तुत गर्नेमा आफू ढुक्क रहेको बताए ।चलचित्रको छायांकन भदौमा हुनेछ भने आउँदो वर्षको चैते दसैँको छेको पारेर रिलिज हुनेछ।


