अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरूमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युतीकरण गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ । प्राधिकरणले विद्युत्को पहुँच विस्तारका लागि मिटर नै किन्न नसक्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको छ ।
मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरूमार्फत प्राधिकरणले विपन्न वर्गलाई निःशुल्क मिटर उपलब्ध गराएर विद्युत् जडान गरिदिँदै आएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्ड अनुसारको ५–३० एम्पिएर क्षमताको बक्स सहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन ।
चितवनको इच्छाकामना गाउँपालिका–१ कालिङमा शनिवार गरिएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँपालिकालाई पूर्ण विद्युतीकरण भएको घोषणा गर्नुभयो । साथै, कार्यकारी निर्देशक घिसिङले गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदायलाई निःशुल्क मिटर पनि वितरण गरिएको छ ।
प्राधिकरणले इच्छाकामना गाउँपालिकाका ७वटा वडाहरूको विद्युतीकरणका चालू आर्थिक वर्षमा मात्र १५ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ । कार्यकारी निर्देशक घिसिङले सरकारले उपलब्ध गराएको बजेट, प्राधिकरणले कमाएको नाफा र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमार्फत सहुलियतपूर्ण ऋण लिएर देशलाई पूर्ण विद्युतीकरण गर्ने कार्य भइरहेको बताउनु भयो ।
‘७/८ वर्ष अघि राष्ट्रिय प्रणालीबाट करिब ६० प्रतिशत जनसङ्ख्यामा मात्र विद्युतको पहुँच पुगेको थियो, विद्युत् पुगेको ठाउँमा पनि लोडसेडिङ थियो भने अन्य ठाउँ अन्धकारमै थिए, हाल लोडसेडिङ अन्त्य भई इतिहास बनेको छ, ९५ प्रतिशत जनसङ्ख्यामा राष्ट्रिय प्रणालीको विद्युत् पुगेको छ, शत प्रतिशत विद्युतीकरणका लागि ठेक्का सम्झौता सम्पन्न भई काम भइरहेको छ’, घिसिङले भन्नुभयो ‘पहिले विद्युत् चाहियो भनेर प्राधिकरणका कार्यलयहरुमा धाउनुपर्थ्यो भने अहिले विद्युत् नपुगेको घर खोज्दै हामी हिँडेका छौँ, विकट क्षेत्रमा रहेको एउटा घरमा विद्युत् पुर्याउन लाखौं रुपैयाँ खर्च गरिएको छ, कुनै घरमा पनि छुट्नुभएन, छुटेको पाइएमा खबर गर्नुहोला ।’


