यही बिहीबार प्रदर्शनमा आउने नेपाली चलचित्र ‘पुजार सार्की’ रिलिज अगावै प्रर्दशन गरिएको छ । सम्भवतः नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक रिलिज अगावै चलचित्र प्रर्दशन गरको हो । काठमाडौंका विभिन्न स्थानहरूमा एक सय बढी दर्शकमाझ गरिएको सर्भेबाट यो चलचित्र देखाइएको निर्देशक दिनेश राउतले बताएका छन्।
मङ्गलवार साँझ काठमाडौंको सिडिसि सिनेमा हलमा गरिएको दर्शक विशेष शो मा सय बढी दर्शकको उपस्थिति रहेको थियो। त्यहाँ ‘पुजार सार्की’का कलाकारहरूले पनि चलचित्र हेरेका थिए। दर्शक छनोट गर्दा नेपाली चलचित्रलाई एकदमै प्रेम गर्ने, ‘पुजार सार्की’ हेर्न व्यग्र प्रतीक्षा गरिरहेका, पहिलो रोजाइमा ‘पुजार सार्की’ भएका लगायतको दृष्टिकोण राखिएको थियो। यो सर्भे ट्राइडेण्ट कन्सेप्टको योजनामा ठुलोपर्दा डटकम र मज्जाको अनलाइनको सहकार्यमा भएको थियो।
यसरी रिलिज अगावै चलचित्र देखाइनुको उद्देश्य चलचित्रप्रति वास्तविक दर्शकको दृष्टिकोणबारे बुझ्नु, आफ्नो चलचित्रबारे दर्शकले बुझेको कुरालाई थाहा पाउनु, चलचित्र हेरेका दर्शकको प्रतिक्रियाबाट आएका सुझावहरूलाई मनन गरेर दर्शकको चाहना अनुरूप सुधार गर्नु रहेको निर्देशक राउतले बताएका छन्।
चलचित्रको ट्रेलर रिलिजसँगै प्रदीपको अभिनयको प्रशंसा भइरहेको छ भने आर्यन र पलले निभाएको फरक भूमिकाको पनि चर्चा भइरहेको छ। यस चलचित्रमा अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।
चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ। राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। चलचित्रको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।



