गायक प्रकाश दूतराजको पछिल्लो गीत ‘करिम’ युट्युबबाट हटाईएको छ । प्रकाशले केही दिनअघि शान्तिश्री परियारसँगको स्वरमा ल्याएको गीत शुक्रबार युट्युबबाट हटाएका हुन्।
सो गीत सार्वजनिक भएको केही दिनमै भिडिओमा रहेको दृश्यलाई लिएर विवादित भएको थियो। प्रकाश स्वयंले समेत अभिनय गरेको भिडिओमा बादी समुदायका महिलाको पीडा र बाध्यतालाई उठान गरिएको थियो।
भिडिओले नेपाली समाजलाई पुरानै स्थितिमा लिन खोजेको र बादीहरू जति पढे लेखे पनि देहव्यापारी हुन् भन्ने भाष्यलाई निरन्तरता दिन खोजेको भन्दै कतिपयले सामाजिक सञ्जालमा आलोचना भएको थियो।
गीतले बादी समुदायको स्वाभिमानमा ठेस पुर्याएको भन्दै हटाउन मागसहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा समेत निवेदन परेको थियो।
केही आलोचना भए पनि समग्रमा गीतले प्रशंसा पाइरहेको थियो। यसको अडिओ र भिडिओ मेकिङलाई लिएर प्रशंसा भइरहेको थियो।
धेरैले केही दृश्यलाई परिमार्जन गरेर सार्वजनिक गर्न सुझाएका थिए। यद्यपि प्रकाशले सो गीत परिमार्जन गरेर नल्याई नयाँ गीत सार्वजनिक गर्ने तयारी गरेका छन्।



