राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट गर्नुभएको छ ।
स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताका रूपमा सहभागी हुन आउनुभएका राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक हुंग्बोबिच स्वीटजरल्याण्डको जेनेभामा बिहीबार भेटवार्ता भएको हो ।
सो अवसरमा राष्ट्रपति पौडेलले महानिर्देशक हुंग्बोलाई सम्मेलनको मुख्य वक्ताको रूपमा आमन्त्रण गर्नुभएकोमा आभार प्रकट गर्दै अन्तर्राष्ट्रिय श्रम सङ्गठनले मर्यादित काम तथा श्रमको अधिकार सुनिश्चित गर्ने तथा सामाजिक संवाद र सबैका लागि सामाजिक संरक्षणका क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्नुभएको थियो ।
उहाँले आप्रवासी कामदारहरूको न्यूनतम तलब, सामाजिक सुरक्षासहित उनीहरूको सुविधा सुनिश्चित गर्न र श्रम गन्तव्य भएका मुलुकलाई जिम्मेवार बनाउन आइएलओले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले नेपालले उत्पादकत्व र श्रमिकको जीवनस्तर सुधार गर्न कानुनी मानक, मापदण्डको नीति तय गरेको पनि जानकारी दिनुभयो ।

नेपालले श्रमिक अधिकार लगायतका छ वटा विषयगत क्षेत्रहरूमा केन्द्रित रहेर व्यवसाय तथा मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्य योजना लागू गरेको बताउनुहुँदै उहाँले विधायिकी संरचना र संस्थागत व्यवस्थाको अभिवृद्धिमार्फत नेपाल सरकार अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुमोदित श्रम मापदण्डहरु (महासन्धि, प्रोटोकल तथा सिफारिसहरू) को प्रभावकारी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको स्मरण गराउनुभएको थियो । यसै सिलसिलामा नेपालले अन्तर्राष्ट्रिय श्रम सङ्गठनका थप तीन वटा महासन्धि तथा प्रोटोकललाई अनुमोदनका लागि आवश्यक गृहकार्य गरिरहेको पौडेलले जानकारी गराउनुभएको थियो ।
सो अवसरमा महानिर्देशक हुंग्बोले राष्ट्रपति पौडेलले आइएलओको कार्यक्रमका लागि समय दिएर यहाँ आएकोमा आभार व्यक्त गर्दै पौडेलको राजनीतिक जीवन र सामाजिक न्यायप्रतिको अन्तस्करणको आस्थाको प्रशंसा गर्नुभएको थियो । हुंग्बोले रोजगारी सृजना, सामाजिक सुरक्षा तथा अन्तर्राष्ट्रिय स्तरको जीवनस्तरका लागि आइएलओले मर्यादित काम( डिसेन्ट वर्क)का लागि काम गरिरहेको पनि जानकारी गराउनुभएको थियो । उहाँले राष्ट्रपति पौडेलको सङ्घर्षपूर्ण राजनीतिक यात्रा र १५ वर्ष लामो जेल जीवनका लागि प्रेरित गरेका विषयहरूबारे रुचिपूर्वक चासो राख्नुभएको थियो ।



