राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीका अवसरमा जन्मभूमि तनहुँको भानुमा खुला कविता, विद्यालयस्तरीय कविता र रामायण वाचन प्रतियोगिता हुने भएको छ ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले असार २८ गते भानु नगरपालिका–४ चुँदीरम्घामा खुला कविता र रामायणवाचन प्रतियोगिता आयोजना गर्न लागेको हो । भानु जयन्तीका अवसरमा आयोजना गरिने प्रतियोगितामा सहभागी हुन चाहनेले असार २६ गतेभित्र कार्यालय वा इमेलमा कविता पठाउनुपर्ने विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिएका छन् ।
खुला कविता प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, द्वितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना हुने दुई जनालाई जनही १ हजार पाँच सय प्रदान गरिने रानाभाटले जानकारी दिएका छन् । विद्यालयस्तरीय कविता प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ३हजार, तृतीय हुनेलाई १ हजार र सान्त्वना हुने दुई जनालाई जनही ५ सय प्रदान गरिनेछ ।
रामायण वाचनमा प्रथम हुनेलाई ५हजार, द्वितीय हुनेलाई ३ हजार, तृतीय हुनेलाई १ हजार र सान्त्वना हुने दुई जनालाई जनही ५ सय प्रदान गरिनेछ ।
भानु जयन्तीका अवसरमा असार २७ गते स्थानीय मठ मन्दिरमा पूजाअर्चना, यही असार २८ गते खुल्ला कविता, विद्यालय स्तरीय कविता र रामायण वाचन प्रतियोगिता हुनेछ । असार २९ गते बिहान ७ बजे बाजागाजासहित समितिको कार्यालयबाट भानु प्रतिमास्थल रम्घासम्म प्रभातफेरी, भानु प्रतिमामा पूजाअर्चना, ११ बजेदेखि चुँदीरम्घामा विभिन्न झाँकी प्रदर्शन, कविगोष्ठी, साहित्यिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम हुनेछ ।
भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् ।



