बुढीराप्ती खोलामा दुर्लभ जलचर डल्फिन देखा परेको छ ।
बिहीबार दिउँसो राप्ती नदीमा पनि डल्फिन देखिएको थियो । रत्ननगर सौराहा आडको बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वनको बीचबाट बग्ने बुढी राप्तीको डुंगाघाटमा आइतबार बिहान चितवनका पत्रकार रवि श्रेष्ठले डल्फिनको फोटो र भिडिओ खिचेका छन् । राप्ती मै देखिएको डल्फिन बुढी राप्तीमा आएको हुन सक्ने बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तमाङले बताएका छन् । बुढीराप्ती खोरसोरभन्दा केही तल पुगेर राप्तीमा मिसिन्छ ।
नारायणीमा खास गरेर मेघौलीभन्दा तल नवलपुरको अमलटारी आसपासमा केही वर्षयता यता फाट्टफुट्ट डल्फिन देखिन्थ्यो । योपटक गत चैत्रमा नारायणी नदीको माथिल्लो क्षेत्र नारायणगढ बजार आडमा नै डल्फिन देखिएको थियो ।
राप्तीमा २०३२/३३ साल तिर कसरा नजिक एकपटक डल्फिन देखिएको र त्यसयता कहिल्यै नदेखिएको चितवन निकुञ्ज स्थनपनाकाल २०३० देखि नै कार्यरत अवकाश प्राप्त पूर्व संरक्षण अधिकृत रामप्रित यादवले बताएका छन् ।


