सहकारी बचत ठगीको विषयमा सञ्चारमाध्यममा आएका समाचार फेसबुकमा पोष्ट गर्दा पार्टीले आपत्ति जनाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगरपालिका वडा नम्बर १० का सचिव शालिकराम दुवाडीले पदबाट राजीनामा दिएका छन्।
दुवाडी साहारा चितवन पीडित संघर्ष समितिका संयोजक पनि हुन्। नारायणघाटमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको ८५ करोड रुपैयाँ अपचलन गरेर बन्द भएपछि २ वर्षअघि संघर्ष समिति बनेको थियो।
१० हजार एक सय १२ जना बचतकर्ताको नेतृत्व गर्दै आएका दुवाडीले सहकारी ठगीका विषयमा सञ्चारमाध्यममा आएका समाचार फेसबुकमा शेयर गर्दा पार्टीभित्रबाट आपत्ति जनाइएपछि साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन्।
दुवाडीले पार्टीका केन्द्रीय सभापति, जिल्ला, क्षेत्र, महानगर र वडाका सभापतिहरूलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा सहकारी पीडितको हकका लागि काम गर्दा विगतमा पनि राजीनामाको दबाब आएको उल्लेख छ।


