काठमाडौं ,असोज २७
दसैँको फूलपातीको अवसर पारेर बिहीबारबाट रिलिज भएको यस वर्षको बहुप्रतीक्षित चलचित्र ‘छक्कापञ्जा ५’ ले बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । चलचित्र प्रदर्शनको आएको पहिलो तिन दिन देशभरिका अधिकांश हलहरुमा हाउसफूलको व्यापार गरेको छ ।
चलचित्र प्रदर्शनमा आएको पहिलो दिन देशभरिका सिनेमा हलबाट १ करोड ८५ लाखको बढी ग्रस कलेक्सन गरेको छ । यसअघिका चार वटै सिरिजको भन्दा उच्च कलेक्सन हो ।यसअघि ‘छक्का पञ्जा–३’ले पहिलो दिन नै एक करोड ७० लाख ग्रस कलेक्सन गरेको थियो ।चलचित्रले राजधानीको हलमा मात्रै १ करोड माथिको कलेक्सन गरेको छ भने राजधानी बाहिर ८५ लाख बढीको कलेक्सन गरेको छ ।

त्यस्तै चलचित्र ‘छक्कापञ्जा ५’ ले प्रदर्शनमा आएको दोस्रो दिन नेपालभरिका सिनेमा घरबाट १ करोड ९० लाखको कलेक्सन गरेको छ । राजधानीमा मात्रै १ करोड ५ लाख बढीको कलेक्सन गरेको ‘छक्कापञ्जा ५’ मोफोसलमा ८५ लाख माथिको कलेक्सन गरेको छ ।

चलचित्र ‘छक्कापञ्जा ५’ ले हिजो दशैंको दिनमा देशभरी बाट १ करोड १० लाख माथिको व्यापार गरेको छ ।दशैंको दिन दिउसोबाट मात्रै धेरै सिनेमा घर संचालनमा आएको हुनाले अघिलो दुई दिनको तुलनामा कलेक्सनमा केहि कमि देखिए पनि आज बाट देशका धेरै सिनेमा घरमा चलचित्रले हाउसफूलको व्यापार गर्ने बुकिङ्ग हेर्दा देखिन्छ ।
चलचित्र ‘छक्कापञ्जा ५’ ले पहिलो तिन दिनमा ४ करोड ८५ लाखको कलेक्सन गरेको छ। अझै केहि दिन दशैंको बिदा र दर्शकको चलचित्र प्रति राम्रो प्रतिक्रिया आएको हुदा तिहारसम्म फिल्म चल्दा २० करोडको हाराहारीमा व्यापार गर्ने अनुमान गर्न थालिएको छ ।

‘ ‘छक्का पञ्जा–५’मा हाँस्यव्यंग्यसँगै समाजका विभिन्न बेथितिमाथि प्रहार गरिएको छ । सरकारी सेवाभित्र भएको भ्रष्टाचार र अनियमितताको विषयलाई उठान गरिएको चलचित्रमा दीपकराज गिरी, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, वर्षा सिवाकोटी, राजाराम पौडेल, रमेश वुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेस खनाल, हिउँवाला गौतम, नविन श्रेष्ठ, दमन रुपाखेती, लोकेन्द्र लेखक र निर्मल शर्मा लगायतको अभिनय छ ।
चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।दीपकराज गिरीको कथा र पटकथा रहेको फिल्ममा दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलिप तामाङको संवाद छ । आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा केदार प्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा केशव न्यौपाने र दीपेन्द्र खनियाँ निर्माताको रुपमा छन् ।


