चितवन ,कार्तिक २३ – चितवनको नारायणघाट मुङ्लिङ सडक खण्डमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।मुङ्लिङबाट नारायणघाटतर्फ जाँदै गरेको इभी हायस र नारायणघाटबाट मुङलिनतिर आउँदै गरेको बस आज बिहान ३ बजे आपसमा जुध्दा हताहत भएको प्रहरीले जनाएको छ ।
मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख. २८१२ नम्बरको बस एक आपसमा ठक्कर खादा चार जनाको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी भेसराज रिजालले जानकारी दिए ।
हायसमा सवार गोर्खा आरुघाट– १ मान्बु बस्ने वर्ष ४० का राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षकी एक महिला, अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको मृत्यु भएको हो ।दुर्घटनामा छ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ ।
घाइतेहरुलाई उपचारको लागि भरतपुर अस्पताल लगिएको छ । हायसका चालकको उपचार भैरहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



