बैशाख १८ , खैरहनी । आइतबार बिहान ८ बजेको समयमा पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा एक मानिसको बाघको आक्रमणबाट मृत्यु भएको छ ।मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नं १३ बैरियाका ६५ वर्षीय नारायण दाहाल रहेको प्रहरीले जनाएको छ ।
बाघको आक्रमण भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुमरोज र इप्रका खैरहनीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोलीले राष्ट्रिय निकुञ्ज र नेपाली सेनासँग समन्वय गरी हात्तीसहितको टोली सो वनभित्र खोजतलासको लागि खटिएको थियो ।
टोलीले बाघले आक्रमण गरेको स्थानभन्दा अन्दाजी एक किलोमिटरभित्र आइतबार बिहान १० बजेको समयमा घाँटीमा चोट लागी दाहिने खुट्टाको तिघ्रा भागमा खाएको अवस्थामा निज दाहालको शव फेला पारेको हो । हाल घटनास्थलमा लास जाँच मुचुल्काको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि गत शुक्रबारमात्रै चितवनमा बाघको आक्रमणबाट हात्तीको माउतेको मृत्यु भएको थियो। निकुञ्जको हेडक्वाटर कसरा नजिकै माउते रमेश चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो।


