कालिका / चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारले भूमिहिनलाई लालपुर्जा वितरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
आज (बुधबार) कालिका ७ मा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै गठबन्धनबाट मेयर पदका उम्मेदवार शिवराम केसीले निर्वाचनमा विजयी भए सबै भूमिहिन सुकुम्बासीले लालपूर्जा नपाएसम्म यो मुद्धा नछोड्ने प्रतिवद्धता जनाए ।
उनले भने, ‘तपाईहरुको लालपूर्जाको यो मुद्धालाई पार नलगाएसम्म हामी छोड्नेछैनौं । पहिलेको स्थानीय सरकारले यो मुद्धा छोड्दा काम भएन । हामी मुद्धा नछोडि अघि बढ्छौं ।’ उनले अघि भने, ‘म यति गते नै गर्छु भनेर भन्दिन तर कसरी गर्नुपर्छ ? मुद्धा कसरी उठाउनुपर्छ ? हिजो उठाए कि उठाएनन् ? हामीलाई निर्वाचित गरेर पठाउनुहोस् मुद्धा कसरी उठाउनुपर्छ हामीलाई थाहा छ ।’
यस्तै केसीले कालिकामा रहेको बाढी, पहिरो र सिचाँईको समस्याको पनि व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए । निकास बिनाको बिकासका कारण वर्षेनी कालिका डुबानमा पर्ने गरेको भन्दै उनले निर्वाचित भएको एक वर्ष भित्र यसको उचित व्यवस्थापन गरिने बताए । अहिले बोलेका कुरा निर्वाचित भए पुरा गरेर देखाउने उनको भनाइ थियो ।
उपमेयर पदकी उम्मेदवार सबिता लामाले कालिका ७ लगायतका वडामा लालपूर्जाको समस्या रहेको भन्दै गठबन्धनको सरकार निर्वाचित भए यो समस्या समाधान हुने बताईन् । वडा नम्बर ७ को क्लबचोकदेखि जुटपानीसम्मका भूमिहिन सुकुम्बासीहरुले लालपूर्जा पाउने प्रक्रिय अहिलेको स्थानीय सरकारले अघि नबढाएको भन्दै उनले गठबन्धनलाई निर्वाचित गराए यो मुद्धालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता जनाईन् ।
‘यहाँको समस्या धेरै छन् । लालपूर्जा नभएकै कारणले स्थानीयले केही गर्न पाएका छैनन् । सबै तिर तालपूर्जाको प्रक्रिया अघि बढ्दा एमालेको नेतृत्व रहेको यो यो ठाउँमा समस्या जस्ताको त्यस्तै छ । गठबन्धनको सरकार आएपछि यसलाई प्राथमिकतामा राखेर अघि बढ्छौं ।’
उनले कालिकाले दुरदर्शी भिजन भएका मेयरको उम्मेदवार पाएको भन्दै बहुमतले विजयी गराउन अपिल गरिन् । यस्तै उनले आफु विजयी भए जनताले शिर निहुराउने अवस्था आउन नदिने समेत प्रतिवद्धता जनाईन् । उनले विपक्षीहरु अत्तालिएर बिभिन्न प्रोपोगाण्डा मच्चाउन थालेको आरोप समेत लगाईन् ।





